काठमाडौं । त्रिपुरेश्वरमा सार्वजनिक बसभित्र भएको आगजनीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।
मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी हुँदा २५ वर्षीय चालक लामा गम्भीर घाइते भएका थिए। आगलागीपछि दमकलको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिइए पनि लामाको शरीर ९० प्रतिशतभन्दा बढी जलेको थियो।
लामाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालकी निर्देशक निजिना ताम्राकारले जानकारी दिइन्।
घटना हुनुभन्दा केही मिनेटअघि १२ः३७ बजे लामाको ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको छ। त्यसपछि बसभित्रै आगजनी भएको प्रारम्भिक विवरण छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरी स्थायी घर भएका लामा हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए। सात भाइमध्येका एक लामा विगत ६–७ वर्षदेखि सवारी चालकका रूपमा कार्यरत थिए।
उनले यसअघि केही समय ट्याक्सी तथा चन्द्रागिरि यातायातको सवारी चलाएका थिए। पछिल्लो ३–४ महिनादेखि भने उनी ऋद्धिसिद्धि यातायातमा चालकका रूपमा कार्यरत रहेको बताइएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्