नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको संस्थापन पक्षले सम्पन्न गरेको वडा अधिवेशनप्रति पार्टीका प्रभावशाली नेता तथा सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले असन्तुष्टि जनाएका छन्। उनले विपद्को गम्भीर अवस्था र पार्टीको सांगठनिक परिस्थितिलाई बेवास्ता गर्दै वडा अधिवेशन ‘गाईजात्रा पाराले’ जबर्जस्ती सम्पन्न गरिएको टिप्पणी गरेका छन्।
जिल्ला सभापति रमेश महतले अधिवेशनका विषयमा सामाजिक सञ्जालमा राखेको धारणा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै घलेले सूर्यगढी गाउँपालिका बाढीबाट प्रभावित क्षेत्र रहेको र बाढीमा परी ७ जनाको सनाखत भइसकेको तथा २१ जना अझै बेपत्ता रहेको उल्लेख गरेका छन्। यस्तो अवस्थामा गाउँमा राजनीतिक गतिविधिमा स्वाभाविक रूपमा असर परेको उनको भनाइ छ।
त्यसमाथि सूर्यगढीका धेरै युवा रोजगारीका लागि विदेशमा रहेको र गाउँमा राजनीतिक चासोसमेत घटेको अवस्थामा अधिवेशन अत्यन्त कमजोर उपस्थितिबीच सम्पन्न गरिएको घलेको दाबी छ। उनका अनुसार आफ्नो पालिकाकाे कतिपय वडामा ९ जनादेखि ४६ जनासम्म मात्रै उपस्थिति देखिएको थियो।
घलेले पार्टी विधानमा सक्रिय सदस्यको कम्तीमा ५१ प्रतिशत उपस्थितिको व्यवस्था रहेको उल्लेख गर्दै अधिवेशनमा आवश्यक सहभागिता र प्रक्रिया पूरा भए/नभएको विषयमा प्रश्न उठाएका छन्। ‘१४औँ महाधिवेशनमा निर्वाचित कुनै पनि वडा सभापतिको उपस्थिति देखिएन’ भन्दै उनले वडा कार्यसमितिको पूर्ण पदाधिकारीसमेत उपस्थित नभएको अवस्थामा प्रतिनिधि चयनलगायतका विषय कसरी टुंग्याइयो भन्ने प्रश्न गरेका छन्।
उनले काठमाडौंमा बसोबास गर्दै आएका व्यक्तिसमेत अधिवेशनकै दिन दिउँसो गाउँ पुगेर अधिवेशन गराएको उदाहरण दिँदै यस्तो परिस्थितिमा गरिएको अधिवेशनले संगठनको वास्तविक अवस्था प्रतिनिधित्व गर्न नसक्ने संकेत गरेका छन्।
‘अहिलेको परिस्थितिको विचार गरेर त्यसपछि मात्र योजना बनाउनुपर्छ’ भन्ने आशय व्यक्त गर्दै घलेले आफूले कसैलाई आक्षेप लगाउन नभई वास्तविक अवस्था औँल्याएको बताएका छन्।
सूर्यगढी गाउँपालिकामा दुई पटक नेपाली कांग्रेसबाट अध्यक्ष निर्वाचित घलेले संस्थापन पक्षको अधिवेशनमा सहभागी नभई बहिष्कार गरेका छन्। उनीसँगै सूर्यगढीका प्रदेश सभापति रामजी पौडेल, युवा नेता शंकर प्याकुरेललगायत नेताहरू पनि संस्थापन पक्षको अधिवेशनबाट अलग देखिएका छन्।
यसैगरी नुवाकोट–१ मा डा. प्रकाशशरण महतसहित कांग्रेसका अधिकांश नाम चलेका नेता तथा कार्यकर्ताले संस्थापन पक्षको अधिवेशन बहिष्कार गरेको बताइएको छ। प्रभावशाली नेता महेन्द्र थिङ पक्षसमेत आगामी असोज १५ गते हुने अधिवेशनको तयारीमा रहेको छ।
यसले नुवाकोट कांग्रेसमा संस्थापन र संस्थापनइतर पक्षबीचको संगठनात्मक विवाद वडा तहसम्मै थप स्पष्ट रूपमा देखिएको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्