नुवाकोट । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीभित्र सुधार र नयाँपन आएको दाबी भइरहेका बेला १५ औ महाधिवेशनका लागि नुवाकोट–१ अन्तर्गत तादी गाउँपालिका–५ मा भएको क्षेत्रीय प्रतिनिधि चयनले भने पार्टीभित्रको परिवारवादबारे नयाँ बहस सिर्जना गरेको छ।
तादी–५ मा क्षेत्रीय प्रतिनिधि चयनका क्रममा उप्रेती परिवारबाट मात्रै ९ जना प्रतिनिधि चयन भएको तथ्य सार्वजनिक भएको छ। अझ एउटै घरका पाँच जना क्षेत्रीय प्रतिनिधि बनेका छन्।
प्रतिनिधि चयन हुनेमा तादी गाउँपालिकाकी पूर्वउपाध्यक्ष ईश्वरी उप्रेती, उनका जेठा छोरा विनोद उप्रेती, माइला छोरा नमराज उप्रेती, साइला छोरा सहदेव उप्रेती र छोरी स्वच्छा उप्रेती रहेका छन्। उनीहरूसहित उप्रेती परिवारबाट मात्रै ९ जना प्रतिनिधि चयन भएको बताइएको छ।
पार्टीभित्रको आन्तरिक विवाद,एक पक्षकाे बहिष्कार, गुटगत गतिविधि र प्रतिनिधिको अभावको असरका रूपमा एउटै परिवारका सदस्यहरू ठूलो संख्यामा प्रतिनिधि चयन भएको स्थानीय कांग्रेसजनको बुझाइ छ।
विशेष महाधिवेशनपछि कांग्रेस सुध्रिएको र संगठनलाई थप व्यवस्थित बनाउने दाबी भइरहे पनि प्रतिनिधि चयनमा देखिएको यस्तो अवस्थाले विगतको भन्दा पनि परिवारकेन्द्रित राजनीति हावी भएको हो कि भन्ने प्रश्न उठाएको छ।
एकै परिवारका धेरै सदस्यलाई प्रतिनिधि बनाएर पार्टीलाई कसरी व्यापक जनताको बीचमा पुर्याउन सकिन्छ भन्ने विषयमा तादीका कांग्रेस कार्यकर्ताबीच बहस सुरु भएको छ।
केही स्थानीय कांग्रेसजनले प्रतिनिधि चयनको प्रक्रियामाथि समेत प्रश्न उठाउँदै पार्टीभित्र यसबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठाएका छन्। यद्यपि, उप्रेती परिवारका ९ जना प्रतिनिधि चयन हुनुको कारणबारे सम्बन्धित पक्षको औपचारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्