भारी वर्षाको सम्भावनापछि बेलकोटगढीका सबै विद्यालयमा असोज ९ गते पठनपाठन बन्द

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ८, बिहीबार ११:५९

नुवाकोट । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै बेलकोटगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शैक्षिक संस्थामा एक दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।


नगरपालिकाले बिहीबार सूचना जारी गर्दै असोज ९ गते विद्यालयका पठनपाठन तथा शैक्षिक गतिविधि बन्द गर्न अनुरोध गरेको हो। जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न प्रदेशमा भारी तथा केही स्थानमा अति भारी वर्षा हुन सक्ने जानकारी गराएपछि सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।


शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटबाट समेत भारी वर्षाका समयमा विद्यालय सञ्चालन गर्दा सावधानी अपनाउन तथा आवश्यकता देखिएमा स्थानीय तहले शैक्षिक संस्था बन्द गर्न सक्ने परिपत्र प्राप्त भएकाले यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ।


नगरपालिकाले असोज ९ गते विद्यालयको पठनपाठन बन्द गरी अविरल वर्षाबाट हुन सक्ने क्षति रोकथामका लागि आवश्यक सावधानी तथा सुरक्षा अपनाउन सबै शैक्षिक संस्थालाई अनुरोध गरेको छ।


त्यसैगरी असोज १० र ११ गते सार्वजनिक बिदा रहेकाले विद्यालय बन्द रहनेछन्। असोज १२ गते विद्यालय सञ्चालन गर्ने वा नगर्ने विषयमा भने वर्षाको अवस्थालाई मध्यनजर गरी आवश्यकताअनुसार सूचना जारी गरिने नगरपालिकाले जनाएको छ।


तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *