काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहलाई मानवअधिकारकर्मी तथा नागरिक समाजका १७ जना प्रतिनिधिले नेपालका जलवायु संकट, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय सहयोगका विषयलाई प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन्।
महासभामा नेपालको पछिल्लो विपद्को अवस्था, त्यसबाट भएको जनधनको क्षति तथा खोज, उद्धार र पुनर्स्थापनाका लागि भइरहेका प्रयासबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन उनीहरूले आग्रह गरेका हुन्।
संयुक्त विज्ञप्तिमार्फत अधिकारकर्मीहरूले भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
नेपालले जलवायुजन्य विपद्बापत ‘हानि तथा क्षति सम्बोधन कोष’मार्फत माग गरेको २ करोड अमेरिकी डलरको क्षतिपूर्ति दाबीलाई न्यायोचित रूपमा सम्बोधन गराउन पहल गर्न पनि उनीहरूले सुझाव दिएका छन्। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि हिमाली क्षेत्रमा बढ्दो जोखिमका कारण नेपालले गम्भीर असर भोगिरहेको भन्दै विश्व समुदायसमक्ष नेपालको अवस्था स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनीहरूको भनाइ छ।
बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको पुनर्स्थापना, अन्तरदेशीय पूर्वसूचना प्रणालीको विकास र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि अनुदान तथा प्राविधिक सहयोग जुटाउन अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गर्न पनि अपिल गरिएको छ।
त्यस्तै, पेरिस सम्झौता तथा अन्य अन्तर्राष्ट्रिय जलवायु प्रतिबद्धता कार्यान्वयनसँगै नेपालले विगतमा आयोजना गरेका कालापत्थर बैठक, सगरमाथा संवाद र घरपझोङ जलवायु सम्मेलनका निष्कर्षलाई अन्तर्राष्ट्रिय मञ्चमा पुनः उठाउन आग्रह गरिएको छ।
अधिकारकर्मीहरूले स्वदेशमै राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन तथा विपद् जोखिम न्यूनीकरणका लागि विस्तृत कार्ययोजना तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।
संयुक्त अपिलमा पूर्वआयुक्त सुशील प्याकुरेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सोम निरौला, शोभाकर बुढाथोकी, सावित्री थापा, कृष्ण गौतम, इन्दु तुलाधर, अभिषेक अधिकारी, आयुश बराल, नीतु पोख्रेल, भगवती अधिकारी, मोनिका निरौला, रमेश अधिकारी, रियाव बानियाँ, शिव खकुरेल, श्याम कुमारी साह र सुशील वि.के.ले हस्ताक्षर गरेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्