ककनी कांग्रेसको सभापतिमा उम्मेदवार बन्ने ढुंगानाको घोषणा, अनुभवी नेतृत्वमा संगठन बलियो बनाउने दाबी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ८, बिहीबार १३:४८

ककनी । नेपाली कांग्रेस ककनी गाउँपालिका कार्यसमितिको सभापति पदमा श्रीराम ढुंगानाले उम्मेदवारी दिने घोषणा गरेका छन्। समग्र ककनी गाउँपालिकाका नागरिकसँग सहकार्य गर्दै रचनात्मक सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आफूले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताएका छन्।

ढुंगानाले कांग्रेसका नेता–कार्यकर्ता तथा आम नागरिकसँगको सहकार्यमा ककनीमा पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको विषयभन्दा संगठन सुदृढीकरण र सामाजिक जिम्मेवारीसँग जोडिएको बताएका छन्।

नुवाकोटको राजनीतिमा लामो समयदेखि सक्रिय ढुंगाना कांग्रेसका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै जिल्ला तहको नेतृत्वसम्म पुगेका नेता हुन्। प्रजातान्त्रिक आन्दोलनमा समेत भूमिका निर्वाह गरेका ढुंगानाले पार्टी संगठन र सामाजिक अभियानमा निरन्तर सक्रियता देखाउँदै आएका छन्।

विशेषगरी ककनीको बच्चरेडाँडामा फोहोरमैला व्यवस्थापनको विषयमा नागरिक तहबाट निरन्तर आवाज उठाउँदै आएका कारण पनि ढुंगानाको उम्मेदवारीलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ।

ककनी कांग्रेसलाई थप बलियो, एकताबद्ध र जनतासँग जोडिएको संगठनका रूपमा अघि बढाउने उनको प्रतिबद्धतामा युवा पुस्तादेखि अनुभवी नेता–कार्यकर्तासम्मको समर्थन रहेको बताइएको छ।

उम्मेदवारी घोषणा गर्दै ढुंगानाले कांग्रेसका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि तथा सम्पूर्ण कांग्रेसजनसँग आफूलाई अमूल्य मत प्रदान गरी नेतृत्वको जिम्मेवारी दिन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *