काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनका लागि नुवाकोट र रसुवासहित ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिले नुवाकोटमा ध्रुव अधिकारी र रसुवामा बालचन्द्र पाैडेललाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको छ ।
नुवाकोटमा प्रतिनिधि तोकिएका ध्रुव अधिकारी नेपाली कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा लामो समयदेखि सक्रिय नेता हुन् । उनले नेपाली कांग्रेस नुवाकोटको जिल्ला सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । पार्टी संगठनमा लामो अनुभव भएका अधिकारीलाई देउवा समूहले नुवाकोटको महाधिवेशन प्रक्रिया अघि बढाउने जिम्मेवारी दिएको हो ।
त्यस्तै, रसुवामा खटाइएका बालचन्द्र पाैडेल पनि नेपाली कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन् । प्रजातन्त्रका लागि संघर्षका क्रममा जेल तथा नेल भोगेका शर्मालाई रसुवाको केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको हो ।
यससँगै नुवाकोट र रसुवामा प्रजातान्त्रिक आन्दोलनको पृष्ठभूमि भएका नेताहरूलाई देउवा समूहले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको देखिएको छ ।
देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र आगामी मंसिर २१ देखि २३ गतेसम्म समानान्तर केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । डा. शशांक कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरी ७७ मध्ये ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेका छन् । रुकुम पश्चिममा भने प्रतिनिधि तोकिएको छैन ।
बागमती प्रदेशअन्तर्गत दोलखामा कुन्दनराज काफ्ले, रामेछापमा पूर्णमान तामाङ (कान्छाराम), सिन्धुलीमा सरोजकुमार थापा, धादिङमा धर्मराज अर्याल, सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत, काभ्रेमा शिवप्रसाद हुमागाईं, चितवनमा कञ्चनचन्द्र वादे, मकवानपुरमा मदनबहादुर अमात्य, भक्तपुरमा दयामान कर्माचार्य, ललितपुरमा मदनबहादुर अमात्य र काठमाडौंमा कल्याणी रिजाललाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।
देउवा समूहले कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा समेत केन्द्रीय प्रतिनिधि तोकेको जनाएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्