काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी नेकपा एमालेको वरिष्ठ नेतामा मनोनित भएकी छन्। बिहीबार बसेको एमाले केन्द्रीय समिति बैठकले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो।
बैठकले पूर्वसभामुख देवराज घिमिरे, दक्षिण कोरियाका लागि पूर्वराजदूत शिवमाया तुम्बाहाङ्फे तथा आन्दोलनका अग्रज नेता काशीनाथ अधिकारीसहित २० जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ।
यस्तै, समायोजनबाट आएका मोहम्मद इस्तियाक राई, पूर्वमन्त्री प्रदीप यादवलगायतलाई पनि केन्द्रीय कमिटीमा मनोनयन गरिएको पार्टी नेतृ पद्मा अर्यालले जानकारी दिइन्।
बैठकले तत्कालका लागि सात जनालाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको छ। मनोनित हुनेमा ईश्वर पोखरेल, थममाया थापा, प्रदीप ज्ञवाली, लालबाबु पण्डित, देवराज घिमिरे, काशीनाथ अधिकारी र शिवमाया तुम्बाहाम्फे रहेका छन्।
पोलिटब्युरो गठन, स्थायी कमिटीका बाँकी सदस्य तथा केन्द्रीय कमिटीका बाँकी सदस्य मनोनयन गर्ने अधिकार भने बैठकले पार्टी सचिवालयलाई प्रत्यायोजन गरेको छ।
बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, तल्लो तहबाट प्राप्त समीक्षा प्रतिवेदन तथा केन्द्रीय सदस्यहरूको धारणाका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालेको अर्यालले बताइन्। नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनसँग जोडिएका आन्तरिक विवाद तथा प्रश्न औपचारिक रूपमा टुंग्याइएको उनको भनाइ छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्