काठमाडौं । अमेरिकामा रहेका प्रधानमन्त्रीले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्रीले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै पूर्वसावधानी नै विपद् व्यवस्थापनको मुख्य आधार भएको बताएका छन्।
सरकारले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको तथा जिल्ला सुरक्षा समितिको बैठकमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको जनाएको छ। नदी तथा तटीय क्षेत्रमा सुरक्षा निकायले माइकिङमार्फत स्थानीयलाई सचेत गराउने कामसमेत गरिरहेका छन्।
प्रधानमन्त्रीले रातिको समयमा राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा नगर्न र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। सडक सुरक्षाका लागि चेकपोइन्टहरूबीच समन्वय गरी सडकखण्ड सुरक्षित रहेको सुनिश्चित भएपछि मात्र सवारी अघि बढाउने ‘रोक, पर्ख र हेर’ नीति लागू गरिएको छ।
सम्भावित बाढी, पहिरो तथा नदी कटानलाई मध्यनजर गर्दै एक्स्काभेटर, लोडर र डोजरलगायत भारी उपकरण जोखिमयुक्त सडकखण्ड नजिकै तयारी अवस्थामा राख्न तथा सडक डिभिजन कार्यालयलाई २४ घण्टा सक्रिय रहन निर्देशन दिइएको छ।
त्यस्तै, हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा रहेका आन्तरिक तथा विदेशी पर्यटकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न सम्बन्धित व्यवसायीलाई समन्वय गर्न आग्रह गरिएको छ। मौसमअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।
सरकारले ७५३ वटै स्थानीय तहलाई विपद् व्यवस्थापन समितिको बैठक गरी पूर्वतयारी गर्न, जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्न तथा प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन निर्देशन दिएको छ।
विद्यालयको हकमा विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय तहसँगको समन्वयमा असोज ९ गते आवश्यकताअनुसार पठनपाठन सञ्चालन नगर्न तथा निर्धारित परीक्षा आवश्यकताअनुसार स्थगित गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन आग्रह गरिएको छ।
स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति तथा औषधि–सामग्री तयारी अवस्थामा राखी आकस्मिक सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ। खाद्य वस्तुको मौज्दात कायम राख्न, राजमार्ग अवरुद्ध भए वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानी गर्न तथा कृत्रिम अभाव, कालोबजारी र अनुचित मूल्यवृद्धि रोक्न बजार अनुगमन गर्नसमेत निर्देशन दिइएको छ।
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत देशभर एसएमएस अलर्ट पठाइएको जनाएको छ। साथै, सञ्चारमाध्यमबाट मौसमसम्बन्धी नियमित सूचना तथा सावधानीका उपाय प्रसारण गर्न आग्रह गरिएको छ।
प्रधानमन्त्रीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचनालाई आधार मानी सचेत रहन आग्रह गर्दै आपत्कालीन अवस्थामा सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय तथा हेल्पलाइनमा सम्पर्क गर्न अनुरोध गरेका छन्।
प्रधानमन्त्रीको सन्देशमा भनिएको छ— “सावधान रहौँ, सुरक्षित रहौँ।”
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्