आफन्त गुमाएको पीडा, करोडौँको क्षति—तर रोकिएन उत्तरगया आयल ट्रेडर्सको सेवा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १०, शनिबार १०:१९


रसुवा । बेत्रावतीमा आएको विनाशकारी बाढीले उत्तरगया आयल ट्रेडर्सका लागि केवल व्यवसाय मात्रै उजाडेन, परिवारका सदस्य र सहकर्मी गुमाउने असह्य पीडा पनि छोडेर गयो। करोडौँ रुपैयाँ बराबरको आर्थिक क्षति र आफ्ना मानिसहरू बेपत्ता भएको पीडा बोकेर पनि पम्पका सञ्चालकहरू भने अहिले पनि नागरिकको सेवामा खटिरहेका छन्।

नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित उत्तरगया आयल ट्रेडर्सका सञ्चालक तथा कर्मचारी गरी चार जना अझै बेपत्ता छन्। पम्पमा काम गर्ने रामेश्वर न्यौपाने पनि अहिलेसम्म सम्पर्कविहीन छन्। बाढीले पम्प आसपास रहेका साना व्यवसाय र पसलहरूमा समेत ठूलो क्षति पुर्‍याएको छ।


पम्प परिसरमा रहेका तीन कोठाका पसल, सामान्य होटल र त्यहाँ आश्रित दुई जना व्यक्ति, एउटा टायर पसल तथा त्यसमा काम गर्ने एक जना व्यक्तिसमेत बाढीको चपेटामा परेका थिए। व्यापारिक संरचना मात्रै होइन, त्यहाँको दैनिकी र परिवारको आधारसमेत बाढीले एकैपटक बगाइदिएको छ।


उत्तरगया आयल ट्रेडर्सका सञ्चालक उद्धव रिजालका अनुसार विभिन्न गाडी तथा कम्पनीबाट करिब ३ करोड रुपैयाँ उधारो उठ्न बाँकी छ। करिब ९ रोपनी जग्गाको मूल्य करिब ९ करोड, करिब ३ करोड बराबरको भौतिक सम्पत्ति तथा नगद र आईसीएफसी फाइनान्सबाट कम्पनी धितो राखेर लिएको करिब ६ करोड रुपैयाँ ऋणसहित प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १८ करोड रुपैयाँ बराबरको आर्थिक भार र क्षति परेको छ।


तर आर्थिक क्षतिभन्दा पनि सञ्चालकहरूको मनमा गहिरो चोट आफन्त तथा सहकर्मी बेपत्ता हुनुको छ। “काम कहाँ र कसरी अगाडि बढाउने भन्ने अन्योल छ। व्यवसाय नै दोधारको अवस्थामा पुगेको छ। तर यस्तो अवस्थामा पनि सेवा रोक्न सक्ने अवस्था छैन,” सञ्चालक रिजालले भन्नुभयो। आफ्नै पीडा छ, तर नागरिकको आवश्यकता पनि छ ,उत्तरगया आयल ट्रेडर्सका सञ्चालकहरू उद्धव रिजाल, सिताराम पौडेल, शंकर न्यौपाने र बलराम ढकाल अहिले व्यक्तिगत दुःखभन्दा माथि उठेर नागरिकको आवश्यकता पूरा गर्ने प्रयासमा छन्।


यही समूहले रसुवाको कालिकास्थानमा सञ्चालन गर्दै आएको ‘गन्तव्य पेट्रोल पम्प’ अहिले रसुवाका लागि इन्धन आपूर्तिको महत्वपूर्ण आधार बनेको छ। भौगोलिक विकटता, सडकको असहज अवस्था र बाढीपछि उत्पन्न कठिन परिस्थितिका बीच पनि उनीहरूले इन्धन ढुवानीलाई निरन्तरता दिइरहेका छन्। आवश्यक पर्दा ड्रममा समेत तेल बोकेर विभिन्न स्थानसम्म पुर्‍याउँदै रसुवामा इन्धन अभाव हुन नदिन उनीहरू सक्रिय छन्।


व्यक्तिगत जीवनमा एकपछि अर्को बज्रपात परिरहे पनि नागरिकका सवारी साधन रोकिएलान् कि, अस्पताल तथा अत्यावश्यक सेवामा इन्धनको अभाव होला कि भन्ने चिन्ताले उनीहरूलाई काममा फर्काइरहेको छ।


आफ्नै इन्धन खोलामा बग्यो, सेवा भने रोकिएन
सेवा सहज बनाउने क्रममा उनीहरूले अर्को दुर्घटनासमेत बेहोर्नुपर्‍यो। हालै इन्धन बोकेर जाँदै गरेको एउटा ट्र्याक्टर दुर्घटनामा पर्दा करिब ४ लाख रुपैयाँ बराबरको तेल खोलामा बग्यो।
एकातिर करोडौँको क्षति, अर्कोतिर उठ्न बाँकी ठूलो रकम, बैंकको ऋण र बेपत्ता भएका आफ्ना मानिसहरूको पीडा—यसमाथि फेरि इन्धन ढुवानीकै क्रममा भएको दुर्घटनाले आर्थिक बोझ थपेको छ।
तर उनीहरूले सेवा रोकेनन्।


पीडाभित्र पनि जिम्मेवारीको उज्यालो
उत्तरगया आयल ट्रेडर्सका सञ्चालकहरूका लागि अहिले व्यवसाय केवल नाफा–नोक्सानको विषय रहेन। उनीहरूले भोगेको क्षति पैसामा मात्रै मापन गर्न सकिँदैन। बेपत्ता भएका मानिसहरूको सम्झना, परिवारको पीडा र भविष्यको अनिश्चितताबीच पनि उनीहरू नागरिकको आवश्यकता पूरा गर्न मैदानमा छन्।


आफ्नै घरपरिवार र व्यवसायमाथि ठूलो विपत्ति आइपर्दा पनि अरूको दैनिकी सहज बनाउने प्रयास गर्नु उनीहरूको बाध्यता मात्र होइन, जिम्मेवारीको भावनासमेत बनेको छ।


बेत्रावतीले उनीहरूबाट धेरै कुरा खोस्यो—सम्पत्ति, व्यवसाय र आफ्ना मानिसहरू। तर त्यही पीडाबीच पनि उनीहरूले सेवा र जिम्मेवारीलाई छोडेका छैनन्।


रसुवामा इन्धनको अभाव हुन नदिन निरन्तर खटिइरहेका उनीहरूको प्रयास अहिले स्थानीयका लागि केवल व्यापारिक सेवा होइन, विपत्तिको समयमा मानवीय जिम्मेवारीको एउटा उदाहरण बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *