सूर्यगढीमा कांग्रेस संस्थापनकाे वडा अधिवेशन सकिए पनि क्षेत्रीय प्रतिनिधि अझै खाेजिदै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १०, शनिबार २०:२६

नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोटको सूर्यगढी गाउँपालिकामा सम्पन्न भनिएको वडा अधिवेशनपछि क्षेत्रीय प्रतिनिधि चयन तथा विवरण पाटी कार्यालयमा पुगेको छैन । असोज ६ गते वडा अधिवेशन सम्पन्न भएको विवरण कांग्रेस केन्द्रीय कार्यालयको अभिलेखमा दर्ता भए पनि क्षेत्रीय प्रतिनिधिसहितको विवरण अझै दर्ता नभएको रहस्य खुलेको छ ।

वडाका कतिपय क्रियाशील सदस्य संस्थापनइतर पक्षमा रहेको तथा कांग्रेसभित्र देखिएको विवादका कारण केही सदस्य अधिवेशनमा सहभागी हुन अनिच्छुक रहेका कारण प्रतिनिधि चयन नै हुन नसकेको देखिएको छ।

यस्तै, सूर्यगढी–३ मा पनि असोज ६ गतेको अधिवेशनबाट राजन लामिछानेलाई वडा सभापतिमा चयन गरिएको भनिए पनि अहिलेसम्म जिल्लामा क्षेत्रीय प्रतिनिधिसहितको पूर्ण विवरण सार्वजनिक गरिएको छैन । तर यसविषयमा निर्वाचन वडा सभापति रञ्जन लामिछानेले भने असाेज ६ गते नै सबै प्रतिनिधिकाे नाम सार्वजनिक गरिएको दावी गरेका छन् ।यस्तै ५ मा पनि अझै प्रतिनिधि खाेज्न संस्थापनपक्ष लागिपरेको आराेप लगाइएको छ ।

इतरपक्षमा रहेका नेताहरू तथा कार्यकर्तालाई विभिन्न प्रलोभन देखाएर क्षेत्रीय प्रतिनिधि बन्न दबाब दिइएको आरोपसमेत लागेको छ। आफूले चाहेको अधिवेशनमा सहभागी हुने वा नहुने तथा प्रतिनिधिका रूपमा अघि बढ्ने विषयमा कांग्रेस कार्यकर्ता र प्रतिनिधिलाई स्वतन्त्र निर्णय गर्ने अधिकार रहेको भन्दै इतरपक्षका नेताहरूले दबाबको आरोपप्रति आपत्ति जनाएका छन्।

कतिपय नेताहरूले यस्तो गतिविधिमा जिल्ला नेतृत्वसमेत संलग्न रहेको आरोप लगाएका छन्। यद्यपि, आरोपबारे सम्बन्धित वडा सभापति तथा जिल्ला नेतृत्वसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा उनीहरूले यस्ता भनाइ गलत भएको भन्दै अस्वीकार गरेका छन् ।

स्मरणीय छ,सुर्यगढीमा कांग्रेसका प्रभावशाली नेताहरु इतरपक्षमा लागेका छन् ।

नुवाकोट कांग्रेसभित्र संस्थापन र इतरपक्षबीच देखिएको विवादका कारण जिल्लामा वडा अधिवेशनका दुई छुट्टाछुट्टै प्रक्रिया अघि बढेका छन्। संस्थापन पक्षले असोज ६ गते वडा अधिवेशन सम्पन्न गरेको दाबी गरेको छ भने संस्थापनइतर पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरेको छ।

नुवाकोटका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा गरी करिब ३० हजार क्रियाशील सदस्य रहेको बताइएको छ। तीमध्ये करिब ३० प्रतिशत मात्रै अधिवेशन प्रक्रियामा सहभागी भएको दाबी गरिएको छ। तर अधिवेशनका क्रममा तयार पारिएका माइनटमा भने बहुमत सदस्यको उपस्थिति देखाइएको भन्दै त्यसको वास्तविकतामाथि प्रश्न उठाइएको छ।

कांग्रेसभित्रको विवादका कारण एउटै जिल्लामा फरक–फरक मितिमा अधिवेशन प्रक्रिया अघि बढेपछि वडा तहदेखि नै कार्यकर्ता विभाजित भएका छन्। यसले क्षेत्रीय प्रतिनिधि चयनदेखि आगामी महाधिवेशनसम्मको प्रक्रियाले थप द्वन्द्व बढाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *