|
२०८३ आश्विन ११, आईतवार ०६:२८
लेखक : गोबिन्द राज ओझा (राजन)
सत्ताको मोहमा नडुब,
जनताको आवाज सुन,
राष्ट्रको हितलाई अघि राखी
सत्यको बाटो चुन।
वाद–विवाद अनेक होऊन्,
देश नहोस् विभाजित,
माटो, मान्छे, संस्कृति बचाऊँ,
बनोस् मन एकीकृत।
झूटका जाल बुनेर अब,
जनमन नबहकाऊँ,
भ्रष्टाचारको कालो छायाँ,
मिलिजुली हटाऊँ।
सीमा, स्वाभिमान, श्रम र शिक्षा,
राष्ट्रका गहना हुन्,
कानुन सबैका लागि बराबर—
यिनै देशका चाहना हुन्।
पक्ष–विपक्ष फरक भए पनि,
देश एउटै हाम्रो हो,
जनताको दुःख बुझ्ने शासन
नै साँचो अर्थमा राम्रो हो।
युवाको हातमा सीप दिऊँ,
किसानको खेत हरियो होस्,
श्रम गर्ने प्रत्येक नागरिकको
घरमा आशा भरियोस्।
अन्धकार जति गाढा भए पनि,
बिहान अवश्य आउँछ,
सत्य, श्रम र एकताको दीपले
राष्ट्र उज्यालो पार्छ।
नेता बदलिँदै जान्छन् तर,
देश सधैँ अमर रहोस्,
जनता, माटो, न्याय र स्वाभिमान—
नेपालको आधार रहोस्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्