आरक्षणको कोटामै शीर्ष नेतृत्वको निरन्तर कब्जा ?कार्यकर्ताले उठाए प्रश्न

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १६, शुक्रबार ०७:४३

नुवाकोट–१ मा सीता मिजार दलित कोटाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेपछि अवसरको पुस्तान्तरणबारे बहस
नुवाकोट । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता मिजार नुवाकोट क्षेत्र नम्बर १ बाट १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पदमा दलित कोटाबाट उम्मेदवार बनेपछि पार्टीभित्र आरक्षणको अभ्यास र त्यसबाट लाभ लिने अवसरको विषयमा बहस सुरु भएको छ।

मिजार यसअघि पनि समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य भइसकेकी छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दलित कोटाबाट महाधिवेशन प्रतिनिधि बनेकी उनी त्यसपछि भएको विशेष महाधिवेशनबाट दलित कोटामै केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्।


अहिले पुनः दलित कोटाबाटै क्षेत्रीय तहको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएपछि भने नुवाकोट कांग्रेसका केही दलित कार्यकर्ताले आरक्षणको अवसर नयाँ नेतृत्वका लागि पुस्तान्तरण हुनुपर्ने आवाज उठाउन थालेका छन्।


दलित समुदायको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न ल्याइएको आरक्षणको मूल उद्देश्य लामो समयदेखि अवसरबाट वञ्चित समुदायलाई राज्य तथा राजनीतिक नेतृत्वको मूलधारमा ल्याउनु हो। तर एउटै व्यक्ति विभिन्न तहमा पटक–पटक आरक्षणकै कोटाबाट अवसर पाउने अवस्था बनेमा त्यसले आरक्षणको मूल मर्म र अवसरको न्यायमाथि प्रश्न उठाउने केही कार्यकर्ताको भनाइ छ।


नुवाकोटका एक दलित कांग्रेस कार्यकर्ताले नाम उल्लेख नगर्ने सर्तमा भने, “आरक्षणको ढोका सधैँ एउटै व्यक्तिका लागि खुला राख्ने हो भने वडा र गाउँ तहमा वर्षौँदेखि संगठन निर्माण गरिरहेका दलित युवाले कहिले अवसर पाउने ?”


अर्का एक कार्यकर्ताले प्रश्न गरे, “नेतृत्वको महत्वपूर्ण तहमा पुगिसकेका व्यक्तिलाई फेरि–फेरि आरक्षणकै कोटा आवश्यक पर्छ कि अब नयाँ पुस्ताका लागि बाटो खुला गरिनुपर्छ ?”


यद्यपि, आरक्षणको संवैधानिक तथा राजनीतिक उद्देश्य कुनै व्यक्तिलाई उम्मेदवारीबाट रोक्नु नभई प्रतिनिधित्व सुनिश्चित गर्नु हो। त्यसैले मिजारले दलित समुदायको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिन पाउने अधिकारमाथि प्रश्न उठाइएको होइन। बहस भने आरक्षणको अवसर कसरी वितरण गर्ने, नेतृत्वमा पुगिसकेका व्यक्तिपछि नयाँ पुस्तालाई कसरी अवसर दिने र दलित समुदायभित्र राजनीतिक नेतृत्वको पुस्तान्तरण कसरी सुनिश्चित गर्ने भन्नेमा केन्द्रित भएको छ।


विशेषगरी वडा, गाउँपालिका तथा स्थानीय तहमा लामो समयदेखि संगठन निर्माणमा सक्रिय दलित युवा तथा कार्यकर्ताहरूले नेतृत्वको माथिल्लो तहमा पुगिसकेका नेताहरूले समेत आरक्षणकै कोटा निरन्तर प्रयोग गर्दा आफूहरूका लागि अवसर सीमित हुँदै गएको गुनासो गर्न थालेका छन्।


मिजारको उम्मेदवारीसँगै नुवाकोट कांग्रेसमा उठेको बहस एउटा व्यक्तिको उम्मेदवारीमा मात्र सीमित नरही आरक्षणको प्रयोग र त्यसको दीर्घकालीन प्रभावसम्म पुगेको छ। आरक्षणले नयाँ नेतृत्व जन्माउने आधार तयार गर्नुपर्छ कि नेतृत्वमा पुगिसकेका व्यक्तिलाई पनि निरन्तर त्यही कोटाबाट अवसर दिइरहनुपर्छ भन्ने प्रश्न अहिले दलित कांग्रेस कार्यकर्ताबीच चर्चामा आएको छ।


तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *