-नारायण नेपाल
आदरणीय रेग्मी सर,
नमस्कार !
नुवाकोट पुकार अनलाइनमा प्रकाशित ‘भोटेकोसी’ शब्द प्रयोग बन्द गरौँ भन्ने सामग्री शेयर गर्दै मेरा मित्र रसुवाली कविले लेख्नुभएको फेसबुक पोस्टमा तपाईंको प्रतिक्रिया पढेँ। तपाईंले लेख्नुभएको रहेछ—नेपालमा ‘भोट’ प्रदेश छ, पहाडमा बस्नेलाई पहाडिया, मधेसमा बस्नेलाई मधेसी भनेझैँ भोटमा बस्नेलाई भोटे भनिन्छ, त्यसैले यो हीनताबोध गराउने शब्द होइन।
मैले पनि त्यहीँ जवाफ फर्काएँ—हो सर, यसका सयौँ ऐतिहासिक र सामाजिक घटना भेटिन्छन्। आउनुहोस्, ताम्सालिङसम्मको भूगोल अध्ययन गर्न स्वागत छ। तपाईंको प्रोफाइल हेर्दा तपाईं मार्क्सवाद र इतिहासका अध्येता तथा प्राध्यापक हुनुहुन्छ भन्ने बुझिन्छ। त्यसैले तपाईंको टिप्पणीले मभित्र केही जिज्ञासा जन्मायो। आरोप लगाउन होइन, इतिहास, समाज, भूगोल र नामाकरणलाई फराकिलो कोणबाट हेर्नुपर्छ भन्ने आग्रहसहित यी जिज्ञासा राखेको हुँ।
शब्द केवल शब्द मात्रै हो त ?
मेरो गाउँमा एउटा भाइ छन्। गाउँमा उनलाई सबैले ‘भोटे माइलो’ भनेर बोलाउँछन्। उनका धेरै सन्तान जन्मिएर मरेपछि उनी दुब्ला–पातला भए। त्यसबेलाको गाउँले चलनअनुसार उनलाई ‘भोटे माइलो’ नाम दिइयो। तर उनको जन्मदर्तामा नाम निश्चल नेपाल छ।
कानुनी कागजमा उनी निश्चल नेपाल हुन्, तर गाउँमा पुस्तौँदेखि ‘भोटे माइलो’ भनेर चिनिन्छन्।
अब प्रश्न उठ्छ—नाम केवल सम्बोधन हो कि त्यसले सामाजिक अर्थ पनि बोकेको हुन्छ ?
नेपाली समाजमा जात, भात, पानी र सामाजिक हैसियतसँग जोडिएका अनेकौँ शब्द र व्यवहारको लामो इतिहास छ। बाहुनले हलो जोत्न हुँदैन भन्ने सामाजिक मान्यताविरुद्ध भएको हलो क्रान्तिको इतिहास हामीसँग छ। त्यसैले शब्द र सम्बोधनले समाजमा कसरी शक्ति, सम्मान र अपमान निर्माण गर्छ भन्ने प्रश्नलाई सामान्य भाषिक अभ्यास भनेर मात्र टार्न मिल्दैन।
२०६२/०६३ को लोकतान्त्रिक आन्दोलनपछि तामाङ समुदायलाई ‘भोटे’, ‘भोटिया’ लगायतका सम्बोधनबाट हेप्ने–होच्याउने प्रवृत्ति धेरै हदसम्म निरुत्साहित भएको देखिन्छ। तर इतिहासको कुनै कालखण्डमा प्रचलित शब्दको सामाजिक प्रभावलाई इतिहासबाट अलग गरेर हेर्न सकिन्छ र ?
तामाङलाई आफ्नो थर लेख्न पाउने इतिहास कति पुरानो छ ?
नेपालको राज्यव्यवस्था र सामाजिक संरचनामा विभिन्न समुदायमाथि भएका विभेदको इतिहास लामो छ। तामाङ समुदायले आफ्नो पहिचान, नाम र थरलाई कानुनी तथा सामाजिक रूपमा स्थापित गर्न गरेको संघर्ष पनि त्यसै इतिहासको एउटा हिस्सा हो।
कुनै समुदायलाई राज्यले दिएको स्थान, अधिकार र पहिचान कस्तो थियो भन्ने बुझ्न पुराना प्रशासनिक कागजातदेखि सामाजिक व्यवहारसम्म हेर्नुपर्ने हुन्छ।
आज नागरिकतामा अपमानजनक वा विभेदकारी अर्थ लाग्ने नाम–थर सच्याउन सरकारले सूचना निकाल्नुपर्ने अवस्था आउनु आफैँमा एउटा सामाजिक इतिहास हो। ‘भोटे कामी’, ‘भोटे दमाई’, ‘भोटे तामाङ’ वा ‘पोक्ची तामाङी’ जस्ता नाम नागरिकतामा कसरी पुगे ? ती नाम कसले राखे ? कुन सामाजिक संरचनाबाट त्यस्ता नाम स्थापित भए ?
यी प्रश्नको उत्तर खोज्दा नामाकरण आफैँमा शक्ति सम्बन्धको विषय रहेछ भन्ने देखिन्छ।
अब थर र गोत्रको कुरा गरौँ
सर, तपाईं रेग्मी, म नेपाल।
तपाईंको गोत्र कौशिक र मेरो घृतकौशिक। थर र गोत्र ऋषि परम्परासँग जोडिएका मान्यता हुन्। हाम्रा प्राचीन परम्परामा आजको जस्तो आधुनिक अर्थमा थर–जातको संरचना थिएन भन्ने विषयमा पनि इतिहास र समाजशास्त्रमा पर्याप्त बहस गर्न सकिन्छ।
संस्कृतमा ‘घृत’को अर्थ धारण गर्नु भन्ने पनि हुन्छ। त्यसैले घृतकौशिक नाम कसरी आयो ? पूर्वीया बाहुनको ‘नेपाल’ थर कहाँबाट कहाँसम्म पुग्यो ? पूर्वको कोशीबाट पश्चिम कर्णालीसम्म मानिस, थर र पहिचान कसरी सरे ?
म कर्णालीको खस राज्य ‘नेपा’बाट झिल्टुङ पुगेको १८ पुस्ताको नेपाल हुँ। तपाईंको परिवारले रेग्मी थर र कौशिक गोत्र धारण गरेको इतिहास होला। त्यसैले एउटा रमाइलो प्रश्न उठ्छ—कौशिकबाट कोशी आयो कि कोशीबाट कौशिकको भूगोल व्याख्या भयो ? पूर्वको कोशी हो कि पश्चिमको कोशी ?
यसको विस्तृत बहस अर्को दिन गरौँला।
तर अहिले यति मात्रै भन्छु—
त्यसैले बाहुन कोशीमा बाढी नआओस् है सर !
नदी कसैको जात होइन
नदी हाम्रो सम्पदा हो। नदी सभ्यताको आधार हो। सप्तकोशी, सप्तगण्डकी र कर्णाली केवल पानी बग्ने धाराहरू होइनन्; तिनले हाम्रो इतिहास, भूगोल, संस्कृति र सभ्यता निर्माण गरेका छन्।
स्कन्द पुराणको हिमवत्खण्डमा गण्डकी, कामाख्या लगायतका स्थान र नदीका नामबारे उल्लेख पाइन्छ। कैलाश–मानसरोवरदेखि हिमालयका अनेकौँ भूगोललाई आफ्नो धार्मिक तथा सांस्कृतिक सभ्यतासँग जोड्ने हाम्रो परम्परा छ।
त्यसैले प्रश्न उठ्छ—हिमाल, नदी र त्यससँग जोडिएको संस्कृति हाम्रो साझा सम्पदा हो भने कुनै नदीको नामलाई लिएर त्यसलाई एउटै जातीय वा समुदायगत अर्थमा सीमित गर्न मिल्छ ?
यदि कैलाश, मानसरोवर र शिवसँग जोडिएका हिमाली भूगोल हाम्रो सांस्कृतिक स्मृतिको हिस्सा हुन सक्छन् भने त्यस भूगोलबाट बग्ने नदीको नामलाई चाहिँ किन एउटै समुदायको पहिचानमा सीमित गर्ने ?
नामाकरण पनि राजनीति हो
नाम केवल परिचय होइन। नामाकरणमा इतिहास हुन्छ, भूगोल हुन्छ, समाजशास्त्र हुन्छ, राजनीतिशास्त्र हुन्छ, अर्थशास्त्र हुन्छ र संस्कृतिको प्रभाव हुन्छ।
कुन ठाउँलाई के नाम दिने ?
कुन नदीलाई कुन नामले चिनाउने ?
कुन समुदायको नाम स्वीकार्य हुने ?
कुन नाम सरकारी कागजमा जाने ?
यी सबै प्रश्न सामान्य देखिए पनि त्यसले कसलाई सम्मानित बनाउने र कसलाई अपमानित बनाउने भन्ने सामाजिक मनोविज्ञान निर्माण गर्न सक्छ।
त्यसैले नामाकरणलाई केवल शब्दको बहस बनाएर टुंग्याउनुभन्दा त्यसको ऐतिहासिक, सामाजिक र भौगोलिक पृष्ठभूमि खोजिनुपर्छ।
२०८२ को विपत्तिको नाम के हो ?
२०८२ मा आएको विनाशकारी बाढी र हिमपहिरोका घटनालाई हामीले अझ गम्भीर अध्ययन गर्न आवश्यक छ।
तीन दिनसम्म कुन खोलामा पानी आयो ?
कुन हिमालमा के घटना भयो ?
कहाँ हिमपहिरो गयो ?
कुन नदीको जलाधारमा त्यसको प्रभाव पर्यो ?
त्यो ठाउँको पुरानो नाम के थियो ?
स्थानीय समुदायले त्यस भूगोललाई के भनेर चिन्थे ?
यी प्रश्नको उत्तर इतिहास, पुरातत्त्व, भूगर्भ, भूगोल, संस्कृति, वातावरण, जलवायु र हिमाल अध्ययन गर्ने विज्ञहरूबाट खोजिनुपर्छ।
तर घटना बुझ्नुभन्दा पहिले नाममा अलमल भयो भने इतिहास पनि अलमलिन्छ र भविष्यको अध्ययन पनि कमजोर हुन्छ।
मेरो बुझाइ के हो भने… जलवायु परिवर्तन र २०८२ को विनाशकारी घटनालाई अध्ययन गर्दा मेरो बुझाइमा यो सामान्य बाढीको घटना मात्रै होइन। यो लिरुङ हिमपहिरो र त्यसबाट सिर्जित हिमप्रलयको घटना हो। मेरो अध्ययन र बुझाइअनुसार— दुई हजार वर्षयता यति ठूलो प्रकृतिको प्रलय भएको प्रमाण खोजिनुपर्ने देखिन्छ।
यस क्षेत्रमा बाढी तथा अन्य प्राकृतिक प्रकोपका पुराना घटना भने प्रशस्त छन्। २०८२ को घटना लेनदी खोलासँग जोडिएको जलप्रलयका रूपमा अध्ययन गरिनुपर्छ। यसलाई केवल ‘भोटेकोसी बाढी’ भनेर सीमित गर्दा घटनाको वास्तविक भौगोलिक र प्राकृतिक कारण ओझेलमा पर्न सक्छ।
त्यसैले ‘भोटेकोसी’ शब्दको प्रयोगबारे पुनर्विचार गरौँ भन्ने मेरो आग्रह हो।
यो कसैको समुदाय, जात वा पहिचानविरुद्धको कुरा होइन। बरु नदी, भूगोल, इतिहास र प्राकृतिक घटनाको वास्तविक पहिचान खोज्ने प्रयास हो।
अन्तिममा, रेग्मी सर ! तपाईं इतिहास र मार्क्सवादका अध्येता हुनुहुन्छ। त्यसैले तपाईंलाई एउटा आग्रह छ—हामी शब्दलाई शब्दकै रूपमा मात्र नहेरौँ।
शब्दको पछाडि इतिहास हुन्छ।
इतिहासको पछाडि सत्ता हुन्छ।
सत्ताको पछाडि समाज हुन्छ।
र समाजको पछाडि मानिसको आत्मसम्मान जोडिएको हुन्छ।
त्यसैले ‘भोटे’ शब्द कसैका लागि सामान्य भौगोलिक सम्बोधन होला, तर अर्काका लागि त्यो इतिहासले थोपरेको अपमानको स्मृति पनि हुन सक्छ।
त्यसैगरी ‘भोटेकोसी’ कसैका लागि परम्परागत नाम होला, तर कुनै प्राकृतिक विपत्तिको वैज्ञानिक पहिचान खोज्ने क्रममा त्यस नामले वास्तविक घटनालाई ओझेलमा पार्छ कि पार्दैन भन्ने प्रश्न उठाउन पाइन्छ।
नदीलाई जात नदिऔँ।
भूगोललाई विभेदको चस्माले नहेरौँ।
इतिहासलाई प्रमाणका आधारमा पढौँ।
र नामलाई नाम मात्रै होइन, त्यसको सामाजिक र ऐतिहासिक सन्दर्भसहित बुझौँ।
त्यसैले फेरि पनि भन्छु—
रेग्मी सर, कोशी नदी सबैको हो।
नदीमा कसैको जात हुँदैन।
त्यसैले बाहुन कोशीमा बाढी नआओस् है !
उहीँ
नारायण नेपाल
नुवाकोट
२०८३ असोज १५
लेखक : नेकपा बागमती प्रदेश सदस्य तथा त्रिविमा एमफिल शोधार्थी/ शोधकर्ता /हुन
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्