विपत्तिका कारण रसुवामा कांग्रेस संस्थापनइतरकाे अधिवेशन रोकियो, उपयुक्त समयमा गर्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १६, शुक्रबार ०९:१५



रसुवा । भदौ १० गते आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि रसुवामा नेपाली कांग्रेसको नियमित अधिवेशन प्रक्रिया तत्काल अघि बढाउन उपयुक्त नभएको कांग्रेस संस्थापनइतर समूहले जनाएको छ।

कांग्रेस संस्थापनइतर समूह रसुवाका संयोजक उपेन्द्र लम्सालले असोज १५ गते जारी गरेको विज्ञप्तिमार्फत विपत्तिका कारण जिल्लाको जनजीवन अझै सामान्य अवस्थामा फर्किन नसकेको उल्लेख गरेका छन्।


बाढीका कारण जिल्लाका विभिन्न स्थानमा जाने सडक, बाटो तथा पुलहरू विच्छेद भएका छन्। बाढीपीडित परिवारको अस्थायी बसोबास तथा अन्य आवश्यक व्यवस्थापनसमेत पूर्ण रूपमा हुन नसकेको विज्ञप्तिमा जनाइएको छ।


त्यस्तै, परिवारका सदस्य गुमाएका पीडित परिवारहरू आफ्नो रीतिथिति तथा परम्पराअनुसार काजक्रियामा रहेको संवेदनशील अवस्थामा राजनीतिक गतिविधि अघि बढाउनु स्वाभाविक नहुने लम्सालको भनाइ छ।


यस्तो मानवीय संवेदनशील परिस्थिति र जिल्लाको वर्तमान अवस्थालाई मध्यनजर गर्दै नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँ/नगर, प्रदेश तथा जिल्ला अधिवेशन निर्धारित समयमा सम्पन्न गर्न मनासिब नभएको विज्ञप्तिमा उल्लेख छ। ‘हालको परिस्थितिका कारण रसुवामा अधिवेशन प्रारम्भ भएको छैन,’ विज्ञप्तिमा भनिएको छ।


कांग्रेसको जिल्ला, प्रदेश तथा केन्द्रीय महाधिवेशनको मितिलाई समेत ध्यानमा राख्दै रसुवाका सबै तहका अधिवेशन उपयुक्त समयमा सम्पन्न गरिने संस्थापनइतर समूहले जनाएको छ।
बाढीपछि रसुवामा सडक तथा पुललगायतका भौतिक संरचनामा भएको क्षति, विस्थापित परिवारको व्यवस्थापन र शोकमा रहेका परिवारको अवस्थालाई ध्यानमा राख्दै राजनीतिक गतिविधिभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो।


तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *