नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनमा नेतृत्वका विभिन्न पदमा कार्यकर्तालाई अलग–अलग प्यानल बनाएर प्रतिस्पर्धामा उतारिए पनि महाधिवेशन प्रतिनिधिको सवालमा भने प्रभावशाली दुई समूहबीच भित्री समझदारी भएको भन्दै कार्यकर्तामाझ चर्चा चुलिएको छ।
क्षेत्र नं. १ मा केसी परिवारबाट डा. केदारनरसिंह केसी र महतका तर्फबाट रमेश महत पक्षले क्षेत्रीय समिति तथा अन्य पदमा आ–आफ्ना प्यानल खडा गरी प्रतिस्पर्धा गराए पनि महाधिवेशन प्रतिनिधिमा भने साझा नाम समेटिएको चिट बाहिरिएपछि कार्यकर्ताले गम्भीर प्रश्न उठाएका छन् ।
युवाहरूले क्षेत्रीय समिति तथा महाधिवेशन प्रतिनिधिमा स्वतन्त्र उम्मेदवारीसहित छुट्टै चुनौती प्रस्तुत गरेपछि दुवै पक्षले आफ्ना प्यानलमार्फत कार्यकर्ता विभाजन गरेको देखिए पनि प्रतिनिधिको सूचीमा भने साझा उम्मेदवार राखिएको कार्यकर्ताको दाबी छ।
क्षेत्रीय अधिवेशनमा वितरण भएको भनिएको चिटमा १० खुला महाधिवेशन प्रतिनिधिमा केसी र महतका साझा १० जनाकाे चिट बाढिएकाे कार्यकर्ताकाे दाबी छ । उक्त चिटमा डा. केदारनरसिंह केसी,रमेश महत, सराेज केसी,धुर्व श्रेष्ठ , निरञ्जन थापा,नारायण प्रसाद पाण्डे,सन्तमान तामाङ,गोविन्द प्रसाद थपलिया, सुमन गिरी र बैकुण्ठ मिश्र रहेका छन् । जवकी दुबै समुहले आ आफ्नो टिमबाट उम्मेदवार बनाएका थिए । उनहरुकाे साँठगाँठले अन्य उम्मेदवार माथि अन्याय हुन पुगेकाे छ ।
कार्यकर्ताहरूले भने आफूहरूलाई क्षेत्रीय समिति र अन्य पदमा प्रतिस्पर्धा गराउने, तर महाधिवेशन प्रतिनिधिमा भने आवश्यकताअनुसार आपसी समझदारी गर्ने रणनीति अपनाइएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, बाहिर प्रतिस्पर्धा देखाएर कार्यकर्ता विभाजित गर्ने र अन्ततः आफूहरूलाई आवश्यक पर्ने प्रतिनिधि चयनमा सहकार्य गर्ने प्रवृत्ति प्रति गम्भीर प्रश्न उठाएका छन्।
नुवाकोट कांग्रेसमा विगतदेखि नै केसी र महत परिवारको प्रभाव तथा प्रतिस्पर्धा चर्चामा रहँदै आएको छ। विगतका अधिवेशनहरूमा यी दुई धारबीच प्रतिस्पर्धा देखिए पनि विभिन्न राजनीतिक परिस्थितिमा सहकार्यका उदाहरणसमेत देखिएका छन्।
यसपटकको क्षेत्रीय अधिवेशनमा युवाहरू तथा नयाँ पुस्ताका उम्मेदवारले स्थापित समूहको संरचनालाई चुनौती दिएपछि आन्तरिक समीकरण थप रोचक बनेको छ। यद्यपि, चिटमा रहेका सबै नाम र त्यसको आधिकारिकता तथा केसी–महत पक्षबीच भएको भनिएको समझदारीबारे सम्बन्धित पक्षको औपचारिक धारणा सार्वजनिक हुन बाँकी छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्