नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शेरबहादुर देउवा पक्षले सूर्यगढी गाउँपालिका–२ मा वडा अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले रामचन्द्र तामाङ (गौरव) को सभापतित्वमा नयाँ वडा नेतृत्व चयन गरेको छ।
अधिवेशनमा कांग्रेस नेतृ तथा पूर्व प्रदेश मन्त्री कल्पना नेपाली प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा प्रदेश सभापति रामजी पौडेल, जिल्ला कार्यसमिति सदस्य मञ्जु ढकाल तथा सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
अधिवेशनमा वडा क्षेत्रका कांग्रेसका सक्रिय सदस्य तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई पक्षबीच फरक–फरक गतिविधि भइरहेका बेला देउवा पक्षले देशका विभिन्न स्थानमा समानान्तर रूपमा वडा तथा क्षेत्रीय अधिवेशनहरू सञ्चालन गरिरहेको छ।
यसैबीच, संस्थापन पक्षले तय गरेको केन्द्रीय महाधिवेशन भोलिबाट सुरु हुने कार्यक्रम रहेको छ। फरक–फरक पक्षबाट अधिवेशन प्रक्रिया अघि बढेसँगै कांग्रेसको १५औँ महाधिवेशन थप चर्चामा आएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्