महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि नारायण पाण्डेले लिए सक्रिय राजनीतिबाट विश्राम

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १८, आईतवार ०८:२६


नुवाकोट । तादी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेसका नेता नारायण प्रसाद पाण्डेले पार्टीको सक्रिय राजनीतिबाट केही समय विश्राम लिने निर्णय गरेका छन्।


पाण्डेले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली कांग्रेसका नेताहरू डा. केदारनरसिंह केसी, रमेशकुमार महत र सन्तमान तामाङलाई आगामी राजनीतिक यात्राका लागि शुभकामना दिँदै आफू सक्रिय राजनीतिक भूमिकाबाट अलग रहने घोषणा गरेका हुन्।

तीन नेतालाई मात्रै बधाई दिएर राजनीति छाडेका पाण्डेको असन्तुष्टि साेही समूहसँग हुन सक्ने अनुमान गर्न सकिन्छ ।तर उनी यसपटक पनि महत केसी दुवैकाे लिग्टमा परेकाे चर्चा थियाे ।पाण्डे खुला १० मा उम्मेदवार बनेका छन् । १०० मत गन्न बाँकी हुँदा उनले जम्मा २५९ मत प्राप्त गरेका छन् ।


पाण्डेले आफ्नो निर्णय कुनै असन्तुष्टि, निराशा वा अन्य पार्टीमा प्रवेश गर्ने उद्देश्यले नभएको स्पष्ट पारेका छन्। उनले नेपाली कांग्रेस नछोड्ने भन्दै विचार, आस्था र आत्मीयता भने पार्टीसँग सधैं जोडिइरहने बताएका छन्।


“नेपाली कांग्रेस छोड्ने होइन, केवल सक्रिय राजनीतिक भूमिकाबाट केही समय आफूलाई अलग राख्ने मेरो व्यक्तिगत निर्णय हो। राजनीतिमा सक्रिय नरहे पनि विचार, आस्था र आत्मीयता सधैं साथमै रहनेछ। समयले उचित ठानेमा फेरि भेटिनेछु,” पाण्डेको भनाइ छ।


पाण्डेको यो घोषणा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि आएको हो। महाधिवेशन प्रतिनिधिका लागि उनी महत र केसी पक्षबीचको समीकरणमा देखिए पनि निर्वाचनमा सफलता हासिल गर्न सकेनन्।


पाण्डे यसअघि तादी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट तादी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।



कांग्रेस राजनीतिमा लामो समयदेखि सक्रिय पाण्डे तादी गाउँ पालिकाकाे अध्यक्ष तथा कांग्रेस सभापतिको जिम्मेवारीसमेत सम्हालेका थिए।

१४औँ महाधिवेशनमा उनी तादी गाउँपालिका कांग्रेस सभापतिमा निर्वाचित भएका थिए। त्यसबेला पाण्डेलाई डा. रामशरण महत, डा. प्रकाशशरण महत र अर्जुननरसिंह केसीलगायत नेताहरूको समर्थन रहेको थियाे ।


पाण्डेको सक्रिय राजनीतिबाट विश्राम लिने घोषणालाई पछिल्लो महाधिवेशनमा भएको पराजयसँग जोडेर हेरिएको छ। यद्यपि, उनले भने आफ्नो निर्णयलाई निर्वाचन परिणामप्रतिको असन्तुष्टिका रूपमा नभई व्यक्तिगत निर्णयका रूपमा व्याख्या गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *