नुवाकोट कांग्रेसको विवादमा युवा नेता जयराम दाहालको व्यंग्य ‘बाटोमा हुनेहरू आँखा छोप है…!’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १८, आईतवार २१:३४

नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं. २ मा संस्थापन पक्षभित्रै देखिएको दुई समूहबीचको विवाद मतगणनासम्म आइपुग्दा थप जटिल बनेको छ।

क्षेत्र नं. २ को अधिवेशनमा अर्जुननरसिंह केसी र सहमहामन्त्री बहादुरसिंह लामा पक्षबीच प्रतिस्पर्धा देखिएको छ। मतगणनाका क्रममा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर फरक–फरक देखिएको भन्दै केसी पक्षले प्रश्न उठाएपछि विवाद उत्पन्न भएको हो। उक्त विषयमा उजुरी परेपछि केन्द्रीय निर्वाचन समितिले मतगणना स्थगित गर्न निर्देशन दिएको बताइएको छ।

विवादबीच कांग्रेसका युवा नेता तथा नियमित महाधिवेशन पक्षधर जयराम दाहालले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन्।

दाहालले लेखेका छन्, “काँग्रेसको आन्तरिक लोकतन्त्र कट्टु हातमा लिएर नुवाकोट सदरमुकाम विदुरबाट काठमाडौं खुलामञ्चतर्फ सवारी हुँदैछ रे..! बाटोमा हुनेहरू आँखा छोप है…….!!!”

दाहालको उक्त टिप्पणीलाई नुवाकोट–२ मा देखिएको निर्वाचन विवादप्रति असन्तुष्टिको अभिव्यक्तिका रूपमा हेरिएको छ।

मतपत्रको हस्ताक्षर विवाद समाधान नभएसम्म क्षेत्रीय अधिवेशनको अन्तिम परिणाम प्रभावित हुने देखिएको छ। विवाद लम्बिँदै गएमा क्षेत्र नं. २ बाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगोसमेत प्रभावित हुन सक्ने अवस्था बनेको छ।अब विवाद तत्काल समाधान नभए अर्जुननरसिंह केसी, बहादुरसिंह लामा, जगदीश्वरनरसिंह केसीसहित ३२ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनबाट वञ्चित हुन सक्ने अवस्था आउन सक्छ।

यसअघि पनि नुवाकोट कांग्रेसमा अधिवेशनका क्रममा यस्तै समूहबीच प्रतिस्पर्धा देखिँदै आएको थियाे । क्षेत्र नं. २ मा केसी र महत–लामा धारबीचको प्रतिस्पर्धा अधिवेशनको सुरुदेखि नै चर्चामा रहेको थियो।

अब मतपत्रमा देखिएको हस्ताक्षरसम्बन्धी विवाद कसरी समाधान हुन्छ र रोकिएको मतगणना कहिले अघि बढ्छ भन्ने विषयले नुवाकोट कांग्रेसको १५औँ महाधिवेशनको प्रतिनिधि छनोटलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *