बहादुरसिंह लामातर्फ जगदीश्वरनरसिंह केसीको कडा संकेत : ‘विवादित मतपत्रको परिणाम स्वीकार्य हुँदैन’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १९, सोमबार ०७:१४

नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनमा देखिएको मतपत्र तथा हस्ताक्षर विवादलाई लिएर कांग्रेस नेता तथा महाधिवेशन प्रतिनिधिका उम्मेदवार जगदीश्वरनर्सिङ केसीले सहमहामन्त्री बहादुरसिंह लामातर्फ संकेत गर्दै गम्भीर प्रश्न उठाएका छन्।

केसीले निर्वाचन अधिकृतले प्राप्त गरेको मतपत्रभन्दा फरक मतपत्र बाहिर छापिएको, मतपत्रमा ‘९ थरी हस्ताक्षर’ गरिएको र त्यसबाट मत हाल्ने परिस्थिति निर्माण गर्न नेतृत्व तहबाटै भूमिका खेलिएको आरोप लगाएका छन्। उनले कुनै व्यक्तिको नाम प्रत्यक्ष रूपमा नलिए पनि उनको अभिव्यक्तिको संकेत सहमहामन्त्री बहादुरसिंह लामातर्फ रहेको देखिन्छ।

केसीले चुनौतीपूर्ण शैलीमा क्षेत्रीय प्रतिनिधिहरूले आफैं मतदान गर्न पाउने निष्पक्ष वातावरण बनाउन तयार हुनुपर्ने बताएका छन्। साथै उनले निर्वाचन प्रक्रिया रोक्न केन्द्रीय निर्वाचन कार्यालयमा पत्राचार हुँदासमेत प्रक्रिया नरोकिनुका पछाडि आर्थिक चलखेल भएको आशंका समेत व्यक्त गरेका छन्। उनले परिणाम अस्वीकार गर्ने संकेत गरेका छन् ।तर यसमा स्पष्ट भनेका भने छैनन् । पछिल्लो परिणाम अनुसार अर्जुननरसिंह केसी र उनी जित्ने १० खुुलामा प्रवेश गरेका छन् ।याे समाचार तयारपार्दासम्म केहि मत मात्रै गणना हुन बाँकी छल।

यसैबीच कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य राजु कटुवालको नाममा नुवाकोट–२ को क्षेत्रीय समिति तथा महाधिवेशन प्रतिनिधिको मतगणना स्थगित गर्न गरिएको भनिएको पत्र सार्वजनिक भएको छ। तर उक्त पत्र वास्तवमै केन्द्रीय निर्वाचन समितिबाट आधिकारिक रूपमा जारी भएको हो वा होइन भन्ने विषयमा समेत प्रश्न उठेको छ।

मतगणना अन्तिम चरणमा पुगेका बेला विवाद चर्किएपछि नुवाकोट–२ को निर्वाचन परिणाम अन्योलमा परेको छ। आजै केन्द्रीय महाधिवेशनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढ्ने भएकाले विवाद तत्काल समाधान नभए क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिको सहभागितामै समस्या आउन सक्ने देखिएको छ।

नुवाकोट–२ मा यसअघि नै अर्जुननरसिंह केसी पक्ष र बहादुरसिंह लामा पक्षबीच तीव्र आन्तरिक प्रतिस्पर्धा देखिँदै आएको थियो। पछिल्लो मतपत्र विवादले दुई पक्षबीचको शक्ति संघर्षलाई थप सतहमा ल्याएको छ।

अब कांग्रेस नेतृत्वसामु मुख्य प्रश्न खडा भएको छ—मतपत्रमा देखिएका फरक हस्ताक्षर कसरी भए? निर्वाचन अधिकृतबाट प्राप्त मतपत्रभन्दा फरक मतपत्र छापिएको हो भने त्यसको जिम्मेवार को हो? र मतगणना स्थगित गर्न गरिएको पत्र आधिकारिक हो भने त्यसको कार्यान्वयन किन भएन?

यी प्रश्नको निष्पक्ष छानबिन नगरी परिणाम घोषणा गरिए नुवाकोट–२ को निर्वाचन प्रक्रियाको वैधानिकता र निष्पक्षतामाथि थप गम्भीर प्रश्न उठ्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *