नुवाकोट–२ बाट कांग्रेसका तीन प्रभावशाली नेता महाधिवेशन प्रतिनिधिमा निर्वाचित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १९, सोमबार ११:५५




लामा पहिलो, जगत तामाङ दोस्रो; अर्जुननरसिंह र जगदीश्वरनरसिंह केसी उत्कृष्ट मतसहित विजयी
नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं. २ बाट पार्टीका तीन प्रभावशाली नेता महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।


खुलातर्फ सहमहामन्त्री बहादुरसिंह लामा, कांग्रेस नेता अर्जुननरसिंह केसी र जगदीश्वरनरसिंह केसी निर्वाचित भएका हुन्। लामा सबैभन्दा धेरै ९८६ मत प्राप्त गर्दै विजयी भएका छन्। त्यस्तै जगत तामाङले ७७६, अर्जुननरसिंह केसीले ७७६ र जगदीश्वरनरसिंह केसीले ६९३ मत प्राप्त गरेका छन्।


खुलातर्फ निर्वाचित हुने अन्य महाधिवेशन प्रतिनिधिमा उपेन्द्र बुढाथोकी, फैसिङ तामाङ, चोकराज शाक्य, सभापति गगन थापाका स्वकीय सचिव सविनराज मुडभरी, सुरेन्द्र अधिकारी र छत्र लामा रहेका छन्।


मतपत्रको हस्ताक्षर विवादबीच परिणाम सार्वजनिक
क्षेत्र नं. २ को निर्वाचनका क्रममा मतपत्रमा रहेको हस्ताक्षरलाई लिएर विवादसमेत उत्पन्न भएको थियो। केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर फरक देखिएको भन्दै प्रश्न उठेपछि मतगणना प्रक्रिया प्रभावित भएको थियो।


विवादकै बीच निर्वाचन समितिलाई मतगणना रोक्न निर्देशनसहितको पत्र आएको विषयसमेत सार्वजनिक भएको थियो। तर त्यसपछि रातारात मतगणना अघि बढाएर परिणाम सार्वजनिक गरिएको भन्दै निर्वाचन प्रक्रियामाथि प्रश्न उठाइएको छ।


यस विषयमा सम्बन्धित पक्षबाट भने मतपत्रमा देखिएको हस्ताक्षरको विषयलाई लिएर फरक–फरक दाबी सार्वजनिक भएका छन्। विवादको आधिकारिक टुंगो निर्वाचन समितिको निर्णय तथा अभिलेखबाट स्पष्ट हुने देखिन्छ।


नुवाकोट कांग्रेसमा केसी–लामा समूहबीच प्रतिस्पर्धा
क्षेत्र नं. २ को परिणामसँगै नुवाकोट कांग्रेसभित्र अर्जुननरसिंह केसी पक्ष र बहादुरसिंह लामा पक्षबीचको प्रतिस्पर्धा पनि सतहमा आएको छ। यसपटकको अधिवेशनमा संस्थापनभित्रै देखिएको समूहगत प्रतिस्पर्धाले क्षेत्रीय राजनीतिमा नयाँ समीकरण निर्माण गरेको छ।


क्षेत्र नं. १ मा भने केसी र रमेशकुमार महत पक्षबीचको समीकरण चर्चामा रहेको छ। डा. प्रकाशशरण महत इतर समूहमा देखिएपछि केसी पक्षलाई क्षेत्र नं. १ मा सहज भएको कांग्रेसभित्र चर्चा छ। यद्यपि केसी निकट मानिएका जगदीश कुँइकेलको विद्रोही उम्मेदवारीले केही स्थानमा समीकरण प्रभावित गरेको बताइएको छ।


यसरी क्षेत्र नं. २ बाट एकैपटक बहादुरसिंह लामा, अर्जुननरसिंह केसी र जगदीश्वरनरसिंह केसी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुलाई आगामी महाधिवेशनमा नुवाकोट कांग्रेसभित्रको शक्ति-सन्तुलनका दृष्टिले पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

क्षेत्र नं २ खुल्ला महाधिवेशन प्रतिनिधि को अन्तिम नामावली

१. बहादुर सिंह लामा ९८६
२. जगत तामाङ ७८३
३. अर्जुननरसिंह के.सी. ७३६
४. जगदीश्वर के.सी. ६९३
५. उपेन्द्र बुढाथोकी ६१९
६. फाइसिङ तामाङ ५८७
७. चोक राज शाक्य ५८६
८. सुरेन्द्र अधिकारि ५७८
९. छत्र लामा ५७६
१०. सबिन मुडभरि ५६६

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *