मन्त्रिपरिषद्का ५ निर्णय सार्वजनिक, जेनजी आन्दोलनका मुद्दाबारे प्रतिवेदन गृहमा पठाइने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १९, सोमबार १६:५७

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन्। उनका अनुसार सोमबारको बैठकले पाँचवटा मुख्य निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा तथा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिने निर्णय गरेको छ।

त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा, गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरिएको छ।

बैठकले वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ पनि स्वीकृत गरेको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै, सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *