नुवाकोट । नेपाली कांग्रेस बेलकोटगढीका नेता रामचन्द्र नेपालले करिब चार दशक लामो कांग्रेस राजनीतिबाट विश्राम लिएको घोषणा गरेका छन्।
नेपालले सामाजिक सञ्जालमार्फत आफूले २०३८ साल चैत १९ र २० गते खरानिटारबाट सुरु गरेको राजनीतिक यात्रालाई २०८३ साल असोज २० गतेदेखि सक्रिय राजनीतिबाट विश्राम दिएको घोषणा गरेका हुन्।
उनले आफ्नो राजनीतिक यात्राका क्रममा आफूबाट कसैलाई केही भनाइ वा व्यवहारबाट चोट पुगेको भए क्षमा माग्दै पार्टी र आफूलाई राजनीतिक यात्रामा साथ दिने अग्रजहरूप्रति सम्मान व्यक्त गरेका छन्।
‘२०३८ सालको चैत १९ र २० गते खरानिटारबाट सुरु भएको यात्रा २०८३ असोज १६ देखि १९ सम्मको यात्रापछि आज असोज २० गतेबाट सक्रियताबाट विश्राम लिएको छु,’ नेपालले लेखेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशनका लागि उम्मेदवारी घोषणा गरेका नेपाल महाधिवेशनको आन्तरिक समीकरणमा आफ्नो उम्मेदवारी अघि बढाउन नसकेपछि अन्ततः प्रतिस्पर्धामा नउत्रिएको बताइएको छ।
नेपालको राजनीतिक विश्रामलाई कांग्रेसभित्र लामो समय योगदान गरेका स्थानीय नेताहरूको असन्तुष्टिसँग जोडेर हेरिएको छ। पछिल्लो समय नुवाकोट कांग्रेसमा अधिवेशनका क्रममा विभिन्न समूहबीच प्रतिस्पर्धा र आन्तरिक समीकरण तीव्र बनेका थिए ।
नेपालले आफ्नो राजनीतिक यात्रामा त्याग, समर्पण र योगदानको उचित मूल्यांकन हुनुपर्ने विषयलाई समेत संकेत गरेका छन्। पछिल्ला दुई महाधिवेशनका क्रममा कार्यकर्तामा निराशा बढेको उनको बुझाइ रहेको छ।
चार दशक लामो कांग्रेस राजनीतिक यात्राबाट विश्राम लिए पनि नेपालले पार्टी र आफ्ना सहयात्रीप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा आफू सक्रिय राजनीतिक भूमिकाबाट बाहिर रहने संकेत गरेका छन्।
उनको घोषणाले लामो समय पार्टी राजनीतिमा योगदान दिएका स्थानीय तहका नेता तथा कार्यकर्ताको भूमिका, मूल्यांकन र नेतृत्व चयनको प्रक्रियाबारे कांग्रेसभित्र पुनः बहस जन्माउने देखिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्