काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विक्रम संवत् २०८३ सालको बडादशैंसँग सम्बन्धित विभिन्न पर्व तथा पूजाका साइत सार्वजनिक गरेको छ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार आश्विन २५ गते आइतबार बिहान ११ः४७ बजे घटस्थापना गर्ने साइत रहेको छ। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेको अवस्थामा चित्रा नक्षत्र र वैधृति योगको अन्त्यपछि मात्र घटस्थापना गर्न सम्भव देखिएमा सोहीअनुसार गर्न समितिले जनाएको छ।
त्यस्तै आश्विन २६ गते सोमबार बिहान १०ः०९ बजे पश्चिम मोहडा फर्केर झण्डा फेर्ने साइत रहेको छ। आश्विन २९ गते बुधबार श्री पचलीभैरव यात्रा हुने समितिले जनाएको छ।
आश्विन ३१ गते शनिबार बिहान ७ः३० बजे फूलपाती भित्र्याउने तथा बिहान १०ः३९ बजे स्थिरासन गर्ने साइत तोकिएको छ।
कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि पर्व परेको छ भने कार्तिक ३ गते मंगलबार महानवमी मनाइनेछ
समितिका अनुसार कार्तिक ४ गते बुधबार विजयादशमी परेको छ। सो दिन देवी विसर्जनको साइत बिहान ८ः४९ बजे रहेको छ।
विजयादशमीकै दिन पश्चिम मोहडा फर्केर टीका लगाउने तथा लगाइदिने साइत बिहान १०ः२६ बजे रहेको समितिले जनाएको छ। त्यसपछि श्री तुलजाभवानी यात्रा बिहान १०ः५१ बजे, स्थिरासन दिउँसो ११ः४२ बजे तथा खड्गयात्रा हुने उल्लेख छ।
त्यस्तै कार्तिक ८ गते आइतबार अखिलबलीपूर्ति तथा कोजाग्रत पूर्णिमा रहेको समितिले जनाएको छ। समितिले सार्वजनिक गरेको सूचनामा सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने समेत स्पष्ट गरेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईद्वारा जारी सूचनामा २०८३ सालको बडादशैंका विभिन्न पर्व तथा पूजाका साइत सार्वजनिक गरिएको हो।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्