काठमाडौँ । सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको हो।
बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति दिने निर्णयसमेत गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित रोखरेलका अनुसार बैठकले भूमि, वन तथा विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
त्यस्तै, मन्त्रिपरिषद्ले विभिन्न सेवाका उच्च तहका कर्मचारीको बढुवा गरेको छ। नेपाल इन्जिनियरिङ सेवा समूहका सहसचिव नवीनराज सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको छ।
नेपाल प्रशासन सेवा समूहका सहसचिव चक्रबहादुर बुढालाई पनि विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय भएको छ। त्यसैगरी, नेपाल लेखापरीक्षण सेवा समूहका नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गरिएको छ।
बैठकले पीडितलाई क्षतिपूर्ति, विभिन्न अध्यादेश अघि बढाउने तथा उच्च तहका कर्मचारीको पदोन्नतिसहितका निर्णय गरेको हो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्