काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनमा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ। प्रदेश सरकारले १५ वटा विषयगत क्षेत्रबाट प्राप्त तथ्यांक समेटेर तयार पारेको ‘एकीकृत प्रारम्भिक प्रतिवेदन’ मुख्यमन्त्री किरण थापा मगरसमक्ष पेस गरेको हो।
प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले बिहीबार प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका हुन्। प्रतिवेदनले बाढीबाट विशेषगरी रसुवा, नुवाकोट र धादिङमा ठूलो विनाश भएको तथा चितवनका नदी तटीय क्षेत्रमा समेत उल्लेख्य प्रभाव परेको देखाएको छ।
प्रतिवेदनअनुसार बाढीपहिरोमा परी १ हजार ४५५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५ हजार २८५ जना अझै बेपत्ता छन्। उद्धार गरिएका १३ हजार ७९५ जनामध्ये ३४४ जनाले अस्पतालमा उपचार पाएका थिए। विभिन्न १९ अस्पतालबाट २९७ जना उपचारपछि घर फर्किएका छन्। उद्धार तथा राहत कार्यमा सुरक्षाकर्मी र स्वयंसेवक गरी २० हजार ४७७ जना परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
बाढीका कारण २ हजार ३०० निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त वा बगेका छन् भने २६९ घरमा आंशिक क्षति पुगेको छ। यसबाट करिब २ हजार ३०० परिवार प्रत्यक्ष विस्थापित भएका छन्। हाल विभिन्न अस्थायी शिविरमा १ हजार ८५ जना आश्रय लिएर बसेका छन्।
विपद्को असर बालबालिका र ज्येष्ठ नागरिकमा समेत गम्भीर देखिएको छ। बाढीका कारण १०२ बालबालिकाले बाबुआमा दुवै गुमाएका छन्। विभिन्न ३८ होल्डिङ सेन्टरमा २४६ बालबालिका र १६९ ज्येष्ठ नागरिक आश्रित रहेको प्रतिवेदनमा उल्लेख छ। ती केन्द्रमा तत्काल मनोसामाजिक परामर्शको आवश्यकता औँल्याइएको छ।
सडक, पुलदेखि विद्यालयसम्म क्षति
बाढीले यातायात पूर्वाधारमा पनि ठूलो क्षति पुर्याएको छ। ३४ वटा मोटरेबल पुल पूर्ण रूपमा बगेका वा भत्किएका छन् भने एउटा पुलमा आंशिक क्षति पुगेको छ। त्यस्तै ५१ झोलुङ्गे पुल र ३.५ किलोमिटर कालोपत्रे सडक बाढीले बगाएको छ।
शिक्षा क्षेत्रमा १२ विद्यालय पूर्ण र १८ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ३५ विद्यालय भवन तथा ३१७ कक्षाकोठा पूर्ण रूपमा नष्ट हुँदा ९ हजार २४८ विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। स्वास्थ्यतर्फ ६ सरकारी स्वास्थ्य केन्द्र, ७ निजी स्वास्थ्य संस्था वा औषधि पसल र २ स्वास्थ्य शाखा तथा स्टोर पूर्ण क्षतिग्रस्त भएका छन्।
आवागमन सहज बनाउन नुवाकोटमा ५ तुइन र २ जिपलाइन तथा रसुवामा तुइन सञ्चालनमा ल्याएर तत्कालका लागि वैकल्पिक पहुँचको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
खानेपानी, कृषि र सञ्चारमा पनि ठूलो असर बाढीले ५५ वटा खानेपानी आयोजना तथा इन्टेकमा क्षति पुर्याउँदा ९६५ घरधुरी खानेपानीबाट वञ्चित भएका छन्। खानेपानी क्षेत्रमा मात्रै करिब ३० करोड ४० लाख रुपैयाँको क्षति अनुमान गरिएको छ।
त्यस्तै ४४ वटा सिँचाइ कुलो क्षतिग्रस्त हुँदा ५९० हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको छ। सिँचाइ क्षेत्रमा २२ करोड २९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
कृषितर्फ ९७३ हेक्टर जमिन प्रभावित भएको र ४७१ हेक्टरमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको छ। बाढीमा ७०२ ठूला पशु, २ हजार १२३ बाख्रा तथा भेडा र १ लाख ३४ हजार कुखुरा तथा अन्य पन्छी मरेका छन्। १६२ गोठ, खोर तथा व्यावसायिक फार्ममा क्षति पुगेको छ। सञ्चार संरचनामा रहेका १९८ मोबाइल टावरमध्ये १९३ वटा पुनः सञ्चालनमा ल्याइसकिएको छ। सञ्चार क्षेत्रमा करिब ४० देखि ४२ करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ।
उद्योग–व्यवसाय र बैंकिङ क्षेत्रमा पनि असर
बाढीबाट ३०० घरेलु तथा साना उद्योग पूर्ण रूपमा नष्ट हुँदा २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ बराबरको क्षति भएको छ। ६७ व्यापारिक पसल तथा प्रतिष्ठानमा क्षति पुग्दा २५ करोड ६० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ। ३० वटा गोदाम बगेका छन् भने करिब १ हजार ७०० श्रमिक रोजगारीबाट प्रभावित भएका छन्।
यसैगरी १९९ होटल तथा रेस्टुरेन्ट र ६ गुम्बा तथा मन्दिरमा क्षति पुगेको छ। बाढीले ४० बस, २७ ट्रक र १०३ कन्टेनर बगाएको प्रतिवेदनमा उल्लेख छ।
वित्तीय क्षेत्रमा १७ बैंक शाखा र ९ एटीएम क्षतिग्रस्त भएका छन्। बैंकहरूको प्रत्यक्ष क्षति ७२ करोड ४० लाख रुपैयाँ पुगेको छ भने २ हजार १२५ ऋणीको २ अर्ब ४२ करोड ८० लाख रुपैयाँभन्दा बढी कर्जा जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ।
मन्त्रालयले सार्वजनिक गरेको यो प्रारम्भिक प्रतिवेदनले भोटेकोशी बाढीले मानवीय क्षतिसँगै आवास, सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, उद्योग–व्यवसाय र वित्तीय क्षेत्रसम्म व्यापक असर पारेको देखाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्