मतपत्र वितरणमा लापरबाही र चलखेल गरिएकोमा बहादुरसिंह लामाको कडा आपत्ति

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २३, शुक्रबार १७:४४

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतदान प्रक्रियामा मतपत्र वितरणमा गम्भीर लापरबाही भएको भन्दै सहमहामन्त्री पदका उम्मेदवार बहादुरसिंह लामाले आपत्ति जनाएका छन् ।

लामाले जारी गरेको विज्ञप्तिमा बागमती प्रदेशको मतदान केन्द्रमा जनजाति क्लस्टरतर्फको सहमहामन्त्री पदका लागि मतपत्र दिनुपर्नेमा पटक–पटक खस–आर्यतर्फको मतपत्र वितरण गरिएको उल्लेख गरेका छन् ।

लोकतान्त्रिक पार्टीको आन्तरिक निर्वाचनमा यस्तो त्रुटि हुनु सामान्य प्राविधिक गल्ती मात्रै मान्न नसकिने उनको भनाइ छ । यसले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको भन्दै लामाले कुनै निश्चित समूहलाई फाइदा पुर्‍याउने उद्देश्यले यस्तो गरिएको हुन सक्ने आशङ्कासमेत व्यक्त गरेका छन् ।

बागमती प्रदेशमा देखिएको त्रुटि अन्य प्रदेश तथा मतदान केन्द्रमा पनि दोहोरिएको हुन सक्ने भन्दै उनले निर्वाचन प्रक्रियाको निष्पक्षता र पारदर्शिताबारे गम्भीर चासो व्यक्त गरेका छन् ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर बनाउने र कार्यकर्ताको मताधिकारमाथि खेलबाड गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ । मतपत्र वितरणमा देखिएका त्रुटि तत्काल सच्याउन र सम्बन्धित पक्षलाई यस विषयमा गम्भीर हुन उनले आग्रह गरेका छन् ।

समयमै समस्या समाधान नभए कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत लामाले दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *