गोरखा । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले गोरखाका दुई वटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाएको छ । बाढीले घर तथा बस्तीमा समेत क्षति पुर्याएको छ ।
प्रहरीका अनुसार बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ । त्यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएको हो ।
बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ ।
त्यसैगरी, धार्चे गाउँपालिका–५ माछिखोलास्थित तल्लो बस्तीमा पनि बाढी पसेको छ । बाढीका कारण उक्त क्षेत्रमा रहेका पाँचदेखि सात वटासम्म घर र पाँचदेखि सात वटासम्म टहरामा बाढी पसेको प्रहरीले जनाएको छ ।
बाढीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्