विदुर ।राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीबाट प्रभावित नुवाकोट, रसुवा र धादिङ जिल्लाका २० वटा सहकारी संस्थालाई करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।
गत भदौ १० गते भोटेकोसी तथा त्रिशूली नदीमा लेदोसहित आएको बाढीबाट क्षतिग्रस्त सहकारी संस्थाहरूको सेवा पुनः सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले बैंकले शुक्रवार नुवाकोटको विदुरमा कार्यक्रमको आयोजना गरी राहत सामग्री हस्तान्तरण गरेको हो।
बैंकले प्रभावित सहकारी संस्थाहरूलाई डेस्कटप कम्प्युटर, सिपियु, प्रिन्टर, किबोर्ड, माउस (१९ थान) तथा डिजिटल तौल मेसिन (१ थान) उपलब्ध गराएको छ। उक्त सामग्रीले बाढीका कारण प्रभावित संस्थाहरूको दैनिक प्रशासनिक तथा वित्तीय गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
बाढीबाट प्रभावित सहकारी संस्थाहरूलाई पुनः सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले आवश्यक उपकरण उपलब्ध गराइएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले बताउनु भयो । उहाँका अनुसार सहकारी संस्थाहरूको सेवा प्रवाहलाई नियमित बनाउन तथा सदस्यहरूलाई प्रदान गरिने सेवा निरन्तर राख्न सहयोग पुग्ने छ ।
राहत सामग्री प्राप्त गर्ने सहकारी संस्थामध्ये नुवाकोटका १५, रसुवाका तीन र धादिङका दुई वटा छन्। बैंकले तीन जिल्लाका प्रभावित सहकारी संस्थाको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको हो।
बैंकका विज्ञ सञ्चालक डा. वासुदेव लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष शिवप्रसाद अधिकारी, संघका पूर्व अध्यक्ष बैकुण्ठ मिश्रलगायत विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
राहत सामग्री हस्तान्तरणपछि बोल्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले विपद्का समयमा राष्ट्रिय सहकारी बैंकले गरेको सहयोगको प्रशंसा गर्नुभयो। उहाँले बैंकको सहयोगले बाढीबाट प्रभावित सहकारी संस्थाहरूलाई पुनः सञ्चालनमा ल्याउन तथा ती संस्थामार्फत सदस्यहरूलाई प्रदान गरिँदै आएका सेवा नियमित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष शिवप्रसाद अधिकारी र संघका पूर्वअध्यक्ष बैकुण्ठ मिश्रले विपद्का कारण प्रभावित सहकारी संस्थाहरूको सेवा पुनः सञ्चालन गर्न बैंकले गरेको सहयोगले ठूलो राहत पुगेको बताउनुभयो। उहाँहरूले सहकारी संस्थाहरूलाई पुनः क्रियाशील बनाउन र सदस्यहरूलाई नियमित सेवा प्रवाह गर्न यस्ता सहयोग महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
बाढीबाट प्रभावित सहकारी संस्थाहरूको सेवा प्रवाहलाई निरन्तरता दिन र तिनको प्रशासनिक तथा वित्तीय गतिविधि पुनः व्यवस्थित बनाउन बैंकले उपलब्ध गराएको राहत सामग्रीले पुनः स्थापना प्रक्रियामा टेवा पुग्ने अपेक्षा गरिएको छ।
बैंकको स्तरीकरण विभागका प्रमुख सन्तोष ढकालले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य नुवाकोट शाखाका प्रमुख मिलन श्रेष्ठले राख्नु भएको थियो ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्