काठमाडौं, १५ कात्तिक । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग दस्तुर (शुल्क) उठाइने भएको छ ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरिएको जनाएको हो । सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सुरुङमार्ग प्रयोग गरेबापत शुल्क लिन लागिएको हो ।
आयोजनाका अनुसार वर्ग १ अन्तर्गत पर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै वर्ग २ अन्तर्गतका मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
वर्ग ३ अन्तर्गत पर्ने बस तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ ।
यसैगरी वर्ग ४ अन्तर्गतका मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ सडक उपभोग दस्तुर तिर्नुपर्ने आयोजनाले जनाएको छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश तथा बाहिरिने सवारीसाधनका लागि वैकल्पिक र छोटो मार्गका रूपमा यसको प्रयोग बढ्दै गएको छ। आजदेखि लागू भएको शुल्कसँगै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको वर्गअनुसार दस्तुर तिर्नुपर्नेछ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्