नुवाकोट । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि देखिएको आन्तरिक विवाद र समानान्तर महाधिवेशन प्रक्रियाको असर नुवाकोटमा समेत देखिन थालेको छ। पार्टी औपचारिक रूपमा विभाजन नभए पनि दुई पक्षबाट अलग–अलग महाधिवेशन प्रक्रिया अघि बढ्दा नेता–कार्यकर्तामा अन्योल र असन्तुष्टि बढेको देखिएको हो।
यही क्रममा नुवाकोटका १६ जना कांग्रेस नेता–कार्यकर्ताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कांग्रेस परित्याग गरेको घोषणा गरेका छन्। पार्टी परित्यागसम्बन्धी पत्रमा उनीहरूले लामो समयदेखि कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेर सक्रिय रूपमा काम गर्दै आए पनि पछिल्लो समय पार्टीभित्र वैधानिक तथा विधिसम्मत प्रक्रियाभन्दा बाहिर गएर गतिविधि भएको, सही व्यक्तिको अवमूल्यन भएको तथा राष्ट्रियता र समाजप्रतिको जिम्मेवारी कमजोर हुँदै गएको उल्लेख गरेका छन्।
पार्टी परित्याग गर्नेमा नेपाली कांग्रेस संघिय मामिला समन्वय विभाग केन्द्रिय सदस्य तथा पूर्व जिल्ला समन्वय सदस्य रामसि तामाङ (शिवपुरी–७), शेरबहादुर तामाङ, टिकराम लामा, सरोजकुमार तामाङ, पार्वती तामाङ, कोपिला तामाङ, सुनिता तामाङ, ईश्वर तामाङ, लालबहादुर तामाङ, मानबहादुर तामाङ, प्रेमबहादुर तामाङ, अर्जुन कु. तामाङ, बेलबहादुर तामाङ, शन्तबहादुर तामाङ, सुमन तामाङ र सोनम तामाङ रहेका छन्।
कांग्रेसमा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि त्यसलाई स्वीकार नगरेको देउवा पक्षले छुट्टै नियमित महाधिवेशनको प्रक्रिया अघि बढाएको छ। यससँगै व्यवहारमा पार्टीका गतिविधि दुई धारमा सञ्चालन भइरहेका छन्। कानुनी रूपमा कांग्रेस एउटै रहे पनि दुई कार्यालय र फरक–फरक महाधिवेशन प्रक्रियाका कारण तल्लो तहसम्म यसको प्रभाव परेको देखिन्छ।
नुवाकोटमा पनि विशेष र नियमित महाधिवेशनलाई लिएर लामो समयदेखि दुई धार देखिँदै आएको थियो। पछिल्लो समय वडा, पालिका तथा क्षेत्रीय तहका अधिवेशनहरू समेत फरक प्रक्रियाबाट अघि बढेपछि नेता–कार्यकर्तामा असन्तुष्टि थप सतहमा आएको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ।
यसअघि पनि नुवाकोटका विभिन्न स्थानीय तहमा कांग्रेससँग आबद्ध केही नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेको सार्वजनिक भइसकेको छ।
यसैबीच, कांग्रेसबाट असन्तुष्ट बनेका केही युवा नेता–कार्यकर्ता ‘उज्यालो नेपाल पार्टी’मा प्रवेश गर्ने तयारीमा रहेको चर्चा पनि जिल्लामा चल्न थालेको छ। यद्यपि, उनीहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गर्ने विषयमा सम्बन्धित व्यक्ति वा उक्त पार्टीको तर्फबाट हालसम्म कुनै औपचारिक पुष्टि भएको छैन।
कांग्रेसभित्रको वर्तमान विवाद, दुई समानान्तर महाधिवेशन प्रक्रिया र त्यसबाट उत्पन्न राजनीतिक अन्योलले नुवाकोटमा पार्टीको आगामी संगठनात्मक अवस्थाबारे थप बहस सिर्जना गरेको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्