
२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत लिने क्रममा बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त हुनु भएको हो । प्रधानमन्त्रीको प्स्तावको पक्षमा जम्मा ६३ मत परेको थियो भने विपक्षमा १९४ मत परेको थियो । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत लिनुभएको हो ।


२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्यो । उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ । आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो ।
१० पुस २०७९ मा प्रधानमन्त्री भएका प्रचण्डले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए । उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो ।
दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत पाए । तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाउनु भएको थियो । तर यो पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै साना दलहरूले समेत प्रधानमन्त्रीलाई साथ दिएनन् । उहालाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएको छ ।