
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएसँगै सरकारमा जानका लागि कांग्रेसको संस्थापनइतर समूहले मन्त्री बन्नेको नाम टुंगो लगाएको छ । स्रोतले जनाएअनुसार इतरको शेखर–गगन समूहले चार जनाको नाम सिफारिस गरेको छ ।
त्यस्तै राज्यमन्त्रीका लागि थप प्रयास थालेको छ । भागमा पर्ने चार जनाको नाम डा। शेखर कोइरालाले सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेका छन् । बिहान कोइरालाको सचिवालय विशालनगरमा नेताहरुको भेला बसेर टुंगो लगाएको बुझिएको छ ।
जसमा सांसदहरु प्रदीप पौडेल काठमाडौँ, रामनाथ अधिकारी धादिङ, तेजुलाल चौधरी सप्तरी, र हृदयराम थानी सुर्खेत रहेका छन् । चर्चामा रहेका सहमहामन्त्रीद्धय बद्री पाण्डे र जीवन परियार भने यो लिष्टमा अट्न नसकेको स्रोतले बताएको छ । परियारलाई मनाउने प्रयास भइरहेको बताइएको छ ।
परियारलाई मन्त्री बनाउन देउवा राजी नभएकोसमेत स्रोत बताउँछ । उनको ठाउँमा अर्जुन नरसिंह केसीलाई बनाउन सकिने बताइएको भए पनि उनको नामसमेत सिफारिसमा नपरेको स्रोत बताउँछ ।