

काठमाण्डौ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग आज बिहीबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले विभिन्न सरकारी निकायबाट भुक्तानी हुनेपर्ने रकममा दायित्व सिर्जना भइसकेको भुक्तानी नरोकिने बताउनुभयो । सम्पन्न भएका कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको पनि उहाँले जानकारी गराउनुभएको छ ।
पौडेलले पूर्वाधार निर्माणमा गुणस्तरमा ध्यान दिन, तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । निर्माण व्यवसायीले प्रदेश र पालिकासमेत बाट गरेर झन्डै ६० अर्ब रुपैयाँ बराबर भुक्तानी पाउन बाँकी रहेको दाबी गर्दै आएका छन् । यसअघि नेपाली कांग्रेस र माओवादी र एमाले माओवादीको सरकारले निर्माण व्यवसायीको अरबौं रुपयाँ भुक्तानी दिन सकेको थिएन । निर्माण व्यवसायीहरुले भुक्तानी नपाउँदा त्यसको असर तल्लो तहसम्म परेको छ । व्यवसायीले भुक्तानी पाए बजार चलायमान हुने विश्वास गरिएको छ ।