

विदुर । गुरु पूर्णिमा अर्थात, आफ्ना गुरुहरुलाई, सम्झने, सम्मान गर्ने दिन हो । हरेक मानिसका आआफ्ना खाले गुरुहरु हुन्छन्, शिक्षादिक्षा दिने, ,असल बाटो हिडाउँने र सत्मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने सबै हाम्रा गुरु हुन । आफ्ना मातापितापछिका यस्ता गुरुहरुलाई नेपालीहरुले गुरुपूर्णिमा अवसरमा सम्झने गर्दछन् । यसै क्रममा नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले आफ्ना गुरुलाई घरमा नै बोलाएर सम्मान प्रकट गर्नुभएको छ ।
आइतबार गुरुपुर्णिमाका अवसरमा अध्यक्ष घलेले आफूलाई शिक्ष दिक्षा दिनेदेखि सत्मार्गमा अघि बढाउँने तीन जना गुरुहरुलाई आफ्नो निवासमा बोलाएर आदरपूर्वक सम्मान गर्नुभएको छ । अध्यक्ष घलेले बागेश्वरी माध्यमिक विद्यालय चोगतेमा आफूलाई शिक्षा दिने गुरुहरु राम प्रसाद अधिकारी,अणबहादुर प्याकुरेल र भोज वहादुर अधिकारीलाई सम्मान गर्नुभएको हो । उहाँले गुरुहरुलाई ढाकाटोपी, खादासहित अन्य उपहार सहित सम्मान प्रकट गर्नुभएको थियो ।

अध्यक्ष घलेले आफूहरुलाई सम्मान गरेसँगै गुरुहरुले पनि उहाँलाई सामाजिक भावनाको विकास र सिंगो पालिकाको विकास र समृद्धिका लागि शुभकामना दिनुभएको थियो । अध्यक्ष घलेले भने गुरु भनेको मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण व्यक्तित्व भएकाले आफूले गुरुहरुलाई हरेक वर्ष गुरुपुर्णिमाका दिन सम्झने गरेको बताउनुभयो ।
उहाँले पछिल्लो पुस्ताहरुमा गुरुप्रतिको आदरभाव हराउँदै गएकाले त्यसप्रतिको भावनाको विकास होस् भनेर पनि आफू सार्वजनिक व्यक्तित्व हुनुको नाताले गुरुहरुप्रतिको सम्मानलाई सार्वजनिक गरेको जानकारी दिनुभयो । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित घले आफ्नो दोस्रो कार्यकालको नेतृत्व गरिरहनु भएको छ ।