
हेटौडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ (२) अनुसार लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेशसभामा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि जम्कटेलले आइतबार राजीनामा दिनुभएको थियो ।
जम्कटेलले राजीनामा दिएपछि प्रमुख यादवले दुई दिनको समय दिएर सरकार गठनका लागि बहुमतकासाथ दावी गर्न दलहरुलाई आह्रवान गर्नुभएको थियो । सो अनुसार मंगलबार अपराह्रन १ बजे बहुमत सदस्यहरुको समर्थनसहित लामाले मुख्यमन्त्रीको दावी पेश गर्नुभएको थियो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ (२) अनुसार लामालाई मुख्यमन्त्रीमा नियुक्तको पत्र हस्तान्तरण गर्दै ः तस्बिर, रामकृष्ण चित्रकार, कांग्रेस संसदीय दलका उपनेता
नेकपा एमालेको समर्थनमा बहुमत सदस्यसहित लामाको दावीपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई नेकपा एमालेसहितका दलहरुको मंगलबार साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । नुवाकोट जिल्लाको साविक मनकामना गाविस हाल किस्पाड. गाउँपालिकमा जन्मनु भएका लामाको राजनीतिक यात्रा विद्यार्थी जीवनबाट नै सुरु भएको थियो ।
नुवाकोटमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नुभएका लामा २०५४ सालको निर्वाचनमा मनकामना गाविसको अध्यक्ष हुनुहुन्थ्यो । त्यसपछि लगातार कांग्रेसको राजनीतिमा क्रियाशिल उहाँ नेपाली कांग्रेसको विभिन्न तह पार गर्दै हाल पार्टीको केन्द्रीय सदस्य तथा कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेता हुनुहुन्छ । उहाँ गत निर्वाचनमा समानुपातिक सांसद हुनुहुन्थ्यो भने नुवाकोटबाट संसदीय निर्वाचनमा दुई पटक निर्वाचन लड्ने अवसर पाउनु भएको थियो ।
सभपाति शेरबहादुर देउवा निकट रहेका लामालाई देउवा पक्षको समर्थनमा नै संसदीय दलको नेता बनाइएको थियो । यसअघि देउवा निकट रहेका इन्द्र बानियाँ गगन पक्षबाट निर्वाचन लडेका थिए । जसले गर्दा उहाँलाई अहिले मुख्यमन्त्री बन्न असहज भएको छ । बानियाँ अघिल्लो कार्यकालमा बागमती प्रदशेसभा संसदीय दलको नेता हुनुहुनथ्यो । नेपाली कांग्रेस र एमाले गठबन्धनले बागमतीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति अनुसार लामालाई मुख्यमन्त्री बन्न सहज भएको हो । नुवाकोट कांग्रेसको राजनीतिमाअर्जुननरसिंह केसी र डा. रामशरण महतको बाहुल्यता हुँदै आएको लामो समय भयो । झण्डै बहुदलपछि केसी र महतकै बोलवाला हुँदै आएको छ ।
बहादुरसिंह लामा उनीहरुले नै जन्माएका एक विद्यार्थी नेता थिए । तर उनको क्रियाशिलता जनजातिको बाहुल्यता भएको नुवाकोट र आफ्नै भाग्यका कारण आज लामा नुवाकोटको राजनीतिमा मात्रै होइन सिंगो देशको राजनीतिमा गनिएका छन् । अझ भनौं अब नुवाकोट कांग्रेसमा केसी र महतसँगै लामाको पनि नयाँ हैसियत स्थापित हुन पुगेको छ । भलै उनले महत र केसीले जसरी जोगाउन सक्लान या नसक्लान त्यो भविष्यको गर्भमा नै छ । तर पनि सिंगो नुवाकोट जिल्लाले एउटा नयाँ इतिहास थप्न भने सफल भएको छ । यसअघि नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको बैठकले त्यसका नेता बहादुरसिंह लामालाई मुख्यमन्त्रीको प्रस्ताव गरेको थियो । मुख्यमन्त्रीका लागि लामासहित प्रदेश सभापति समेत रहेका इन्द्रबहादुर बानियाँको पनि चर्चा भएपनि कांग्रेस संसदीय दलले सहमतिमा लामालाई मुख्यमन्त्री बनाउने निर्णय गरिएको थियो ।
आइतबार बिहान बसेको संसदीय दलको बैठकमा सर्वसम्वत रुपमा लामालाई मुख्यमन्त्रीको प्रस्ताव गरेको थियो । लामालाई मुख्यमन्त्रीको प्रस्ताव प्रदेशसभा सदस्य इन्द्र बानियाँले गर्नुभएको थियो । बानियाँ नेपाली कांग्रेस बामगती प्रदेशको सभापति हुनुहुन्छ । उहाँको प्रस्तावमा बैठकले सर्वसम्वत रुपमा निर्णय गरेको हो । स्रोतका अनुसार लामा र बानियाँबीच आधा आधा कार्यकाल मुख्यमन्त्रीका लागि भद्र सहमतिमा भएको छ । सो सहमति अनुसार संसदीय दलको नेता फेर्ने अभियान स्थगित भएको छ । १ सय १० सदस्यीय प्रदेशसभामा कांग्रेसको ३७ र एमालेको २७ सांसद रहेका छन् । दुई दल मिल्दा बहुमतका लागि आवश्यक ५६ मत सहजै पुगेको छ । माओवादी, समाजवादी भने विपक्षमा बस्ने भएका छन् ।
यसैबीच दुई दलबीच भएको सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाएका छन् । सोमबार मन्त्रालय भागबण्डा नमिल्दा र एमाले भित्र मन्त्री छनौटको आन्तरिक समस्याले मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामाको दावी पेश गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो । तर सहमतिसँगै लामा मंगलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिएका छन् । स्रोतका अनुसार एमालेले यसअघि माओवादी नेतृत्वमा लिएका पाँच मन्त्रालय लिने सहमति यस अघि नै भएको थियो । मुख्य रुपमा समाजवादीले लिएको दुई मन्त्रालयमा एमालेले पशुपंक्षी मन्त्रालय र कांग्रेसले खेलकुद मन्त्रालय लिने सहमति भएको छ ।
कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिएको लिएको छ । एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ ।
लामाको जीवनी
८ कात्तिक २०२७ मा नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा जन्मिएका उनी तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुन् । बागमतीमा नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गर्ने पनि उनी पहिलो हुन् ।
लामाले गाउँकै विद्यालयबाट निमावि, सदरमुकाम बिदुरबाट एसएलसी तथा काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातक सम्मको शिक्षा हासिल गरेका छन् ।
२०४३ सालदेखि कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघको सदस्य लिएका उनले नेविसंघ शंकरदेव क्याम्पस इकाई सदस्य,२०४५ मा नुवाकोटमा नेविसंघको क्षेत्रीय सभापति, जिल्ला उपसभापति हुँदै काङ्ग्रेस राजनीतिमा अगाडि बढेका थिए ।
लामा २०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोट तत्कालीन मनकामना गाविस अध्यक्षमा निर्वाचित भएका थिए । उनी कांग्रेसको १३ औं महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित भए भने त्यसपछि १४ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य निर्वाचित भए ।