
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र भ्रष्टहरूलाई पुनः बढार्ने उद्घोष गर्नुभएको छ ।

फाइल तस्बिर
आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गराउने क्रममा पार्टी अधयक्ष दाहालले यस्तो उद्घोष गर्नुभएको हो ।
पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले भन्नुभयो,‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा ०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्त्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिनेछ,’ निवर्तमान प्रधानमन्त्री दाहालले १८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको दावी गर्नुभयो । उहाले भन्नुभयो,‘१८ महिना सरकारको नेतृत्व गर्यौँ। असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौँ।
उहाँले सुशासनका पक्षमा विजय भएर निस्किएका भन्दै वर्तमान सत्तागठबन्धन भ्रष्टहरू मिलेर बनाएको कुरा बच्चाबच्चालाई पनि थाहा भएको उल्लेख गर्नुभयो ।
माओवादी नेताहरुका अनुसार कार्यक्रममा एमाले, कांग्रेस, रास्वपालगायतका दल परित्याग गरी मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।