
शुकदेव दाहाल
नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकास्थित वडा नं ५ मनकामनामा २०२७ साल कात्तिक ८ मा नुवाकोटको जन्मिएका बहादुरसिंह लामा तामाड. समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति बनेका छन् । यसकासाथै बागमती प्रदेशमा नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गर्ने पनि लामानै पहिलो भएका छन् । सामान्य परिवारमा जन्मिएका लामाले गाउँकै विद्यालयबाट निमावि, सदरमुकाम बिदुरबाट एसएलसी तथा काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातक सम्मको शिक्षा हासिल गरेका छन् ।

२०४३ सालदेखि कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघको सदस्य लिएका लामाले नेविसंघ शंकरदेव क्याम्पस इकाई सदस्य,२०४५ मा नुवाकोटमा नेविसंघको क्षेत्रीय सभापति, जिल्ला उपसभापति हुँदै कांग्रेस राजनीतिमा थप क्रियाशिल बन्दै गए । २६ वर्षको उमेरमा उनी गाविस अध्यक्ष बन्न सफल भए । २०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोट तत्कालीन मनकामना गाविस अध्यक्षमा निर्वाचित भएसँगै उनको राजीतिक उचाई थपिदै गयो , नेताहरुको नजरमा उनी एक गनिने पात्र बने ।
राजनीतिसँगै निर्माण व्यवसायमा पनि उत्तिकै सफललता हात पार्दै गएका लामा छोटो सयमा नै एक सफल निर्माण व्यवसायी बन्न सफल भए । उनी अहिले पनि क वर्गको निर्माण व्यवसायिका रुपमा स्थापित छन् । उनलाई व्यवसायसँगै राजीतिक यात्राका दौरानमा कांग्रेसको १३ औं महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य बन्ने शौभाग्य मिल्यो । केन्द्रीय सदस्यसँगै पार्टी सभापति शेरबहादुर देउवासँग नजिक हुने अवसर प्राप्त भयो ।
लामा १४ औं महाधिवेशनबाट पनि केन्द्रीय सदस्य निर्वाचित हुन पुगे । यस्तै संघीय निर्वाचनमा दुई पटक प्रतिस्पर्धा गर्नु अवसर पनि मिल्यो । पहिलो पटक पोष्टबहादुर बोगटीसँग पराजित भएपनि दोस्रो पटक भने निर्वाचित हुन सफल भए । एक पटक समानुपातिक सांसद बन्ने अवसर पाएका लामा कांग्रेसको छायाँ सरकारको सूचना तथा मन्त्रीको जिम्मेवारी पनि पाएका थिए ।
यसरी राजनीतिक सफलता प्राप्त गर्दै आएका लामा गत २०७९ सालमा भएको आम निर्वाचनमा भने प्रदेशसभाका लागि उम्मेदवार बने । प्रदेशसभामा निर्वाचित भएसँगै संसदीय दलको नेता हुने अवसर पनि प्राप्त भयो । संसदीय दलको नेतासँगै नेपाली कांग्रेस र माओवादीबीचको गठबन्धनमा निर्माण भएको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाउन सफल भए । सभपाति शेरबहादुर देउवा निकट रहेका लामालाई देउवा पक्षको समर्थनमा नै संसदीय दलको नेता बनाइएको थियो । यसअघि देउवा निकट रहेका इन्द्र बानियाँ गगन पक्षबाट निर्वाचन लडेका थिए । जसले गर्दा लामालाई अहिले मुख्यमन्त्री बन्न सहज भएको छ ।
राजनीतिमा लागेकोहरु मध्ये थोरैले मात्र यस्ता अवसर पाउने गरेका छन् । जसले आफुलाई निरन्तर रुपमा क्रियाशिल राख्न सक्छ र पार्टीप्रति इमान्दारित प्रदर्शन गर्न सक्छ, उसले त्यसको प्रतिफल प्राप्त गर्न सक्छ भन्ने एउटा उदाहरण पनि लामाले पेस गर्न सफल भएका छन् ।
आर्थिक रुपमा बलियो, तमाड. समुदायबाट अग्रभारमा रहेर नेतृत्व गर्ने अवसरकाबीच लामा उक्त समुदायबाट नुवाकोट जिल्लामा नेतृत्व गर्ने स्वभाविक नेता भएका छन् । यो सँगै नुवाकोट कांग्रेसको राजनीतिमा पनि अबका दिनमा उनको राजनीतिक हैसियत थप बलियो हुने निश्चित भएको छ । केसी र महतले कांग्रेससहित सिंगो नुवाकोटलाई विगत ३० वर्षदेखि हल्लाईरहेका छन् । त्यसमा अबका दिनमा लामा पनि थपिएका छन् । भलै उनले केसी र महतले जसरी त्यो हैसियत स्थापित गर्न सक्ला या नसक्ला न्यो भविष्यले नै निर्धारण गर्ने छ । तर उनी आफू नुवाकोटबाट प्रतिनिधित्व गरेर एक राष्ट्यि स्तरको नेताका रुपमा गनिन भने सफल भएका छन् ।
लामाको उचाई जति थपिदै गएको छ जनतामा उनीप्रति आशा र भरोस पनि उत्तिकै चुलिदै गएका छन् । यो सँगै मुख्यमन्त्रीका रुपमा उनका धेरै दायित्व र जिम्मेवारी हुन्छन् । त्यसमा पनि गठबन्धनको नेतृत्वको सहमति अनुसार लामाले जम्मा १८ महिना नेतृत्व गर्ने भनिएको छ । त्यो भित्र पनि इन्द्र बानियाँ र लामाबीच पुन आधाआधा कार्यकालको सहमति भएको बुझिएको छ । यि सबैकाबीच उनले सिंगो प्रदेशलाई आफ्नो नेतृत्वको समयमा शसक्त राख्ने दायित्व र जिम्मेवारी छ । यसमा उनी चुके भने भुतपुर्व मुख्यमन्त्रीमा रुपमा मात्रै नाम लेखिने छ ।
अर्कोतर्फ आफ्नो राजनीतिक आधार क्षेत्र नुवाकोटका नागरिकको मनमा उनी स्थापित भैसकेको अवस्था छ । समग्र जिल्लाको विकास निर्माणमा उनको भूमिका नागरिकले खोजिरहेका छन् । यो अवसरसँगै जनताको विश्वासलाई पनि उत्तिकै सम्मानकासाथ टिकाउनु पर्ने उनीमाथि हरु चुनौती पनि छन् । यसमा सफल हुन सकेनन् भने राजनीतिक भविष्यमाथि ठेस लाग्न पनि सक्छ । यदि यसमा चुकेनन् भने उनले नुवाकोटको मात्रै होइन सिंगो नेपालको र तामाड. समुदायको समेत सम्मान पाउनेछन् । मुख्यमन्त्री लामालाई हार्दिक बधाई तथा शुभकामना ।