
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै

काठमाडौँ । सरकारले विभिन्न १८ देशका लागि राजदुत नियुक्तिका लागि सिफारिस गरेको छ । साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चीन, अस्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत नेपाली आवासीय राजदुतहरुलाई १५ दिनभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने, विभिन्न १८ देशहरूका लागि आवासीय नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले विभिन्न २२ जना नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृत सचिवहरुको सरुवा गर्ने निर्णय पनि निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।मन्त्रिपरिषद् बैठकले लाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न सिफारिस गरेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यही साउन २५ गतेदेखि लागु हुने गरीबलाधिकृत रथी सिग्देललाई कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्ने राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी रिक्त हुने बागमती प्रदेशको प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा (कैलाली) लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगर (रोल्पा) तथा कर्णाली प्रदेशको प्रदेश प्रमुखमा यज्ञराज जोशी (बझाङ)लाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
यसैगरी मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षा आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका निकायहरूमा ५९ तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका कार्यालय र कार्यक्रमहरूका लागि राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको पनि मन्त्री गुरुङले जानकारी दिनुभयो ।