

काठमाडौँ, साउन ३० गते। प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ,तेस्रो संशोधन, विधेयक, २०८१ पारित भएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो।
सभामुख देवराज घिमिरेले विधेयक सभाको बैठकबाट पारित भएको घोषणा गर्नुभयो। विधेयक पारित हुनु अगाडि सबै पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपाका अध्यक्ष रवि लामिछानेसहित नेताहरुले सम्बोधन गरेका थिए । नेताहरुले सम्बोधनका क्रममा ऐतिहासिक रुपमा सहमतिकासाथ विधेयक पारित भएकोमा शुखी व्यक्त गरेका थिए । विधेयकका विपक्षमा नेपाल मजदुर पार्टीले मात्रै विपक्षमा मतदान गरेको थियो ।
त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ६ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको जानकारी दिनुभयो।
प्रश्नोत्तरका लागि समूह ७ मा रहेका सांसदले भदौ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवलाई आफ्नो प्रश्न लिखित रुपमा दिन उहाँले आग्रह गर्नुभयो।प्रतिनिधि सभाको आगामी बैठक भदौ ६ गते बिहीबार दिनको १ बजे बस्नेगरी बोलाइएको छ।