
काठमाडौँ ।नेपाली वाम आन्दोलनका एक उदाहरणीय व्यक्ति स्वर्गीय गणेश पण्डितको स्मृतिमा एक पुस्तक प्रकाशित भएको छ ।गणेश पण्डित स्मृति केन्द्रको वरिष्ठ वामचिन्तक स्वर्गीय गणेश पण्डितको स्मृतिमा गणेश पण्डित स्मृत ग्रन्थ प्रकाशित गरेको हो ।

राजधानीको प्रज्ञा भवनमा शनिबार आयोजना गरिएको पुस्तकको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा ग्रन्थको विमोचन गर्दै पूर्व राष्ट्रपति भण्डारीले पण्डितको मूल्याङ्कन समाज र राष्ट्रलाई दिएको योगदानका आधारमा गर्नुपर्ने बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले अनेकौँ अवसरलाई बेवास्ता गर्दै जिल्लाको शैक्षिक उन्नयनका लागि समर्पित पण्डितले पञ्चायती कालरात्रिको अवधिमा अनेक यातना र जेलनेल भोग्नुपर्दा समेत राजनीतिमा निरन्तर लाग्नुभएको बताउनुभयो ।

“अप्ठ्यारो परिस्थितिमा समेत निर्भयका साथ देश र जनताका पक्षमा निरन्तर क्रियाशील भइरहने उहाँको क्रान्तिकारी स्वभावबाट खुला लोकतान्त्रिक परिवेशमा राजनीतिमा आबद्ध भएका नेता तथा कार्यकर्ताले गहन शिक्षा लिनुपर्दछ,” उहाँले भन्नुभयो ।
पूर्व राष्ट्रपति भण्डारीले विसं २०१७ देखि २०४६ सम्म पञ्चायती शासनको कहालीलाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखी राजनीतिमा होमिएको स्मरण गर्नुभयो ।
जनस्तरबाट स्थापित नेता पण्डितको स्मृति ग्रन्थ प्रकाशन गरेर केन्द्रले राष्ट्र र जनताका लागि पण्डितले दिएको योगदानलाई जनसमक्ष ल्याउने र उहाँको स्मृतिलाई चिरस्थायी बनाउने काम गरेकामा प्रशंसा गर्नुभयो ।
सो कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पण्डितका भान्जा अर्जुननरसिंह केसीले आफ्ना मामा तथा वामचिन्तक पण्डितले नेपाली राजनीतिमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । उहाँले पण्डितले सिंगो नुवाकोटमा राजनीतिक चेतना ल्याउन ठुलो मिहिनेत गरेको स्मरण गर्दै आफू मामाबाट धेरै प्रभावित भएको बताउनुभयो ।
राष्ट्यि प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले गणेश पण्डित एक इमान्दार र अससल नेताको रुपमा पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो । उहाँले अहिलेका राजनीतिकज्ञहरुमा भ्रष्टारको छवि लागिररहेका बेला गणेश पण्डित जस्ता नेताहरु जनताका नजरमा सँधै सम्मानित रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेताहरुमा व्यक्तिगत स्वार्थ हावी भएको भन्दै राप्रपाले नोतहरुमा त्यस्तो स्वार्थ हावी हुन नदिने समेत दावी गर्नुभयो ।
गणेश पण्डित स्मृति केन्द्रका अध्यक्ष तथा पण्डितका छोरा राजकुमार पण्डितको सभापतित्वमा भएको कार्यक्रममा उहाँका समकक्षी राजनीतिकज्ञ तथा नुवाकोट जिल्लाका राजनीतिकर्मी तथा उहाँको आफन्तहरुको बाक्लो उपस्थिति रहेको थियो ।
विसं २००३ साउन ३० गते नुवाकोटको शिखरबेसीमा जन्मनुभएका गणेश पण्डितको पछिल्ला समयमा धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा लाग्नुभएको थियो । उहाँको २०७५ साल फागुन २९ गते निधन भएको थियो । विद्यार्थी आन्दोलनमा लागेबापत पण्डितलाई पञ्चायती सरकारले उपत्यका प्रवेश निषेध गरेपछि उहाँ आफ्नो गृह जिल्ला नुवाकोटमा शिक्षण पेसामा आबद्ध हुनुभयो ।
सुरुमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशनमा आबद्ध भई वामपन्थी राजनीतिमा होमिनुभएका पण्डित २०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा संयुक्त राष्ट्रिय जनआन्दोलनतर्फबाट सक्रिय हुनुभएको पूर्वराष्ट्रपति भण्डारीले बताउनुभयो ।
उहाँ २०४७ सालमा तत्कालीन नेकपा ,मार्क्सवादी,हुँदै नेकपा ,एमाले,मा समाहित हुनुभएको थियो । पण्डित विसं २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा नुवाकोटबाट निर्वाचित हुनुभएको थियो । स्मृति ग्रन्थमा पण्डितले देश र जनताका पक्षमा गरेका कामको चर्चा गरिएको छ ।