
पछिल्ला वर्षहरुमा विभिन्न खाले रोगले विश्वलाई सताई रहेको छ । चीनको उहान शहरबाट सुरु भएको कोभिड १९ बाट हाम्रो देश नेपालले पनि ठुलो क्षति व्यहोर्नु परेको इतिहास हाम्रा लागि ताजै छ । त्यसपछिका दिनमा लामखुट्टेबाट सर्ने डेंगु रोगले पनि हामीलाई गत वर्ष निकै सास्ती दिएको थियो । भलै यो वर्ष उक्त रोगको संक्रमण फैलन पाएको छ । अझ सचेत भने हुनु जरुरी छ ।
यसैबीचमा फेरि मंकिपक्स संक्रमणको जोखिम थपिएको छ । मंकिपक्स भाइरस संक्रमण छिमेकी देश भारतमा द्रुत रूपमा फैलिसकेको छ । हाम्रो मुलुकका यस वर्ष एकजनामा पनि देखिएको छैन । तर गत वर्ष भने नेपालमा पनि एक जनामा देखिएको मन्त्रालयको तथ्याड.कमा उल्लेख छ । भारतमा देखिनु भनेको हामीमा पनि त्यसको खतरा छ भन्ने बुझ्न सकिन्छ । विगतमा कोभिड संक्रमण भारतमा फैलिएसँगै त्यसको प्रभाव तत्काल हाम्रो मुलुकमा परेको थियो । त्यसैले भारतमा फैलनु भनेको हाम्रोमा पनि सुरु भयो भन्ने बुझ्नु हो ।
स्वास्थ्य मन्त्रालयले यसको पूर्व तयारी थालेको छ । मन्त्रालयले जारी गरेको सार्वजनिक अपिल अनुसार मंकिपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषयविज्ञसँग सुझाव लिइसकेको छ भने हवाई तथा सीमानाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन समेत दिइएको छ । तर यतिले मात्रै यसको जोखिम हट्न सक्ने अवस्था छैन । यसका लागि हामी आफै पनि सचेत हुनुपर्दछ । उक्त रोग पनि संक्रमणकालिन एक सरुवा रोग हो ।
चिकित्सकहरुका अनुसार मंकिपक्स संक्रमित भएको व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, ¥यालको सम्पर्कबाट, संक्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्ने गर्दछ । यसका लक्षणहरुमा संक्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थिहरू बढ्ने गर्दछन् । आँखामा संक्रमिण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्दछ ।
यसर्थ राज्यको तोकेको मापण्डभित्र हामी नागरिक स्तरबाट पनि रहनु अति जरुरी रहेको छ । राज्यको मात्रै भर परियो भने हिजोका दिनमा कोभिडमा व्यहोरेको क्षति जस्तै व्यहोनुपर्ने अवस्था आउन सक्दछ । मुख्य रुपमा नागरिकतहबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मंकिपक्स संक्रमणको रोकथाम र नियन्त्रण गर्न राज्यलाई सहज हुनेछ भने हामी पनि त्यस रोगबाट बच्न सक्नेछौं । यसतर्फ समयमा नै ध्यान पुर्याऔँ ।