

काठमाण्डौ – नेकपा एकिकृत समाजवादी पार्टीको उपाध्यक्षमा चर्चित नेतृ रामकुमारी झार्की पराजित हुनु भएको छ । ६ जना उपाध्यक्षका लागि भएको मतदानको नतिजा सार्वजनिक हुँदा झार्की पराजित हुनु भएको हो । महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गरेर जयन्ती राई विजयी हुनुभएको छ ।यसअघि राजेन्द्र पाण्डलाई भने सर्वसम्वत निर्वाचित गरिएको छ ।
राईले १ सय ८९ र झाँक्रीले १ सय १२ मत पाउनुभयो ।आज बिहान सकिएको मतगणनाअनुसार गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, भानुभक्त जोशी, र धर्मनाथ प्रसाद साह उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
खुलातर्फ चार जना उपाध्यक्षको लागि ११ जनाको उम्मेदवारी परेकोमा गंगालाल तुलाधरले १ सय ८९ मत, जगन्नाथ खतिवडाले १ सय ५१ मत, भानुक्त जोशीले १ सय ५६ र प्रकाश ज्वालाले १ सय ४५ मत पाएर विजयी हुनुभयो ।
यस्तै मधेसीतर्फको उपाध्यक्षमा रामचन्द्र झालाई पराजित गरेर धर्मनाथप्रसाद शाह विजयी हुनुुभएको छ । डेढ महिनाअघि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको एकिकृत समाजवादीको बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न हिजो मतदान भएको थियो ।
३ सय ४४ जना केन्द्रीय सदस्य रहेकोमा ३ सय २२ मत मात्रै खसेको छ । उपाध्यक्षको मतगणना सकिएकाले अब उपमहासचिव, पोलिटब्युरो सदस्य लगायतका पदाधिकारीको मतगणना भइरहेको छ ।