धादिङ, जेठ २० — नेपाली कांग्रेसको सदस्यता अद्यावधिक अभियान अन्तर्गत धादिङ जिल्लामा हालसम्म ४ हजार ९२४ जना क्रियाशील सदस्यले आफ्नो सदस्यता अध्यावभिक गरेका छन्।
जिल्ला कार्यसमितिका एक पदाधिकारीका अनुसार जिल्लामा यसअघि १५ हजार ७७२ जना क्रियाशील सदस्य रहेकामा हालसम्म करिब ३३ प्रतिशत सदस्यले मात्रै अद्यावधिक प्रक्रिया पूरा गरेका छन्।
अभियानको समय अब भोलिसम्म मात्रै बाँकी रहेकाले पार्टीले अद्यावधिक गर्न बाँकी रहेका सदस्यहरूलाई निर्धारित समयभित्र आफ्नो सदस्यता अध्यावधिम गर्न आग्रह गरेको छ। पार्टी संगठन सुदृढीकरण र आसन्न १५औँ महाधिवेशनको तयारीसँग जोडिएको यो अभियानमा अपेक्षाअनुसार सहभागिता हुन नसकेको देखिएको छ।
जिल्ला सभापति रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना, नेता दिलमान पाख्रिनलगायतले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गराइसकेका छन्। तर विश्व अर्याल, हरि अधिकारीसहित केही नेताहरूले हालसम्म सदस्यता अद्यावधिकमा चासो नदेखाएको बताइएको छ।
यसैबीच, नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण कार्य पनि औपचारिक रूपमा सुरु भएको छ। अनलाइन प्रणालीमार्फत सदस्यता वितरण गरिने भएकाले विगतको तुलनामा प्रक्रिया सहज र झन्झटरहित हुने पार्टी नेताहरूको भनाइ छ।
सदस्यता अद्यावधिकको दर ३३ प्रतिशतमा सीमित रहँदा अभियानको अन्तिम दिनसम्म थप केही सदस्यहरू अद्यावधिक प्रक्रियामा सहभागी हुने अपेक्षा गरिएको छ। पार्टीभित्र महाधिवेशनको तयारी तीव्र भइरहेका बेला सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई संगठन विस्तार तथा प्रतिनिधित्व निर्धारणको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ। तर कांग्रेस भित्र एक समूहले अध्यावधिक गर्ने र अर्को समूहले बहिष्कार गर्ने रणनीति चलाएका कारण कांग्रेस वृत्तमा क्रियाशिल लिने त्यति उत्साह देेखिदैन । नेताहरूको फरक फरक अडानका कारण समयमा महाधिवेशन हुने सम्भावना क्रमश : अन्त्य हुँदै गएकाे छ ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्