
देवीघाट । संविधान दिवसको अवसरमा यशोदादेवि भगवान केसी मेमोरियल ट्रष्टले नुवाकोटमा स्वास्थ्य शिविरको आयोजना गरेको छ । विदुर नगरपालिका वडा नं ५ को देविघाटस्थित शहिद जगतप्रकाशजंग माध्यमिक विद्यालयमा आयोजना गरिएको शिविरको ट्रष्टका संरक्षक अर्जुननरसिंह केसीले उद्घाटन गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी जालपादेवी उपशाखासँगको सहकार्यक्रमा आयोजना गरिएको शिविरको उद्घाटन समारोहमा ट्रष्टका संरक्षक अर्जुननरसिंह केसीले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा आफूहरुले विगतदेखिनै स्वास्थ्य तथा शिक्षामा सामाजिक भावनाले काम गर्दै आएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रममा कुनै राजनीतिक उदेश्य नभएको भन्दै यसलाई केवल सामाजिक अभियानका रुपमा मात्र लिन पनि आग्रह गर्नुभयो ।

ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीको सभापतित्वमा भएको कार्यक्रममा ट्रष्टका महासचिव जगदश्विरनरसिंह केसी,विदुर नगरपालिका उपमेयर प्रभा वोगटी नेपाल रेडक्रस सोसाईटी नुवाकोट शाखाका अध्यक्ष हरि श्रेष्ठ,शहिद जगतप्रकाशजंग माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक मञ्चु चित्रकारसहितका व्यक्तित्वहरुले ट्रष्टले निःशुल्क रुपमा आयोजना गरेको शिविरले समाजलाई सकारात्मक सन्देश दिन सफल भएकोमा जोड दिनुभएको थियो ।
दुई दिनसम्म चल्ने स्वास्थ्य शिविरमा स्त्री रोग तथा प्रसुती सेवा, आँखा तथा दृष्टि रोग सेवा,ल्याव सेवा, मनोरोग सेवा, जनरल फिजिसियन, नशातथा हाडजोर्नीको स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी वितरण गरिने ट्रष्टका महासचिव जगदीश्वरनरसिंह केसीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
उक्त शिविरका लागि प्राविधिक रुपमा त्रिशुली अस्पताल र जिल्ला सामुदायिक आँखा केन्द्रले गरेको बताइएको छ ।राजधानीको विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सहरुद्धार स्वास्थ्य परिक्षण गरिने शिविरमा सहभागि भएर स्वास्थ्य उपचार सेवा लिन समेत ट्रष्टले अपिल गरेको छ ।

केसी परिवारले विगत १२ वर्षदेखि आफ्ना माता पिताको स्मृतिमा स्थापना गरेको ट्रष्टमार्फत नुवाकोट जिल्लामा स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । ट्रष्टले भुकम्पका बेला होस् वा कोभिडका बेला समेत गाउँ गाउँ पुगेका स्वास्थ्य सेवा तथा राहत वितरण गरेको थियो ।
