
काठमाडौं । खोलामा बगिरहेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए ।
काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्धार गरेका थिए । टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यवाद दिएका मुख्यमन्त्री लामाले चणिकलालाई नगदसहित सम्मान गर्न लागेको जानकारी दिनुभयो । यसअघि चणिकलाललाई विभिन्न संघ संस्थाले सम्मान गरेका छन् भने कावा प्रधानमन्त्री प्रकाशमानसिंहले समेत सम्मान गरिसक्नु भएको छ ।