
हेटौंडा । बागमती प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावित पालिकाहरूलाई राहत तथा उद्धार कार्यका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।शनिबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् प्रभावित ४५ स्थानीय पालिकाहरुलाई ५ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले गत असोज ११ र १२ गतेको वर्षाका कारण बाढीपहिरोबाट प्रभावित भएका पालिकाहरुलाई तीन वर्गमा विभाजन गरी राहत तथा उद्धार कार्य गर्न रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उहाका अनुसार प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रकम अभाव रहेकाले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड रुपैयाँ रकम निकासा गरेर सो मध्येबाट ५ करोड ८० लाख रुपैयाँ पालिकाहरुलाई उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले विपद्बाट बढी प्रभावित ७ स्थानीय तहलाई २० लाख रुपैयाँ १२ वटा स्थानीय तहलाई १५ लाख रुपैयाँ र २६ वटा स्थानीय तहलाई १० लाख रुपैयाँ सोझै पालिकाको विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय भएको मन्त्री लामिछानेले बताउनुभयो ।