
दार्चुला — मालिकार्जुन मन्दिरमा लागेको रात्रिकालीन जात्राबाट फर्कने क्रममा जिप दुर्घटना हुँदा दुई भारतीयसहित आठ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्याल दार्चुलाका अनुसार मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को बगजेबलामा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिप दुर्घटनामा मृत्यु हुनेमा शैल्यशिखर–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय संजिव बोहरा, वीरेन्द्र बोहरा, शैल्यशिखर नगरपालिका–९ नकतडकी ४० वर्षीया मिना लेखक तथा भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिम छन् । मृतक ८ मध्ये एक जनाको सनाखत हुन बाँकी रहेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए ।
जिप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका सुनिल जोशीको अवस्था गम्भीर रहेको डीएसपी दाहालले बताए । उनको टाउकोमा चोट लागेको छ । जिपमा सवार शैल्यशिखर–५ लेकगाउँका सन्दिप रावल, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–५ का उत्तम रोकाया, भारत पिलभित मारुडण्डाका सोहिन शाह र ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल घाइते भएका छन् । घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गईरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।