
जागरण सभाका लागि जानकारी दिन नेकपा एमालेले पार्टी मुख्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी महासचिव शंकर पोखरेलसहितका नेताहरु
काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते राजधानीमा र्यालीसहितको जागरणसभाको आयोजना गर्ने भएको छ । एमालेले जनतामा फैलाउन खोजिएको अराजकता र अस्थिरताको भ्रमलाई चिर्न काठमाडौँमा जागरण सभा गर्न लागेको जनाएको छ ।
एमालेको जागरण सभा आयोजक कमिटीले आज शुक्रबार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी पार्टी महासचिव शंकर पोखरेलले समाजलाई दिग्भ्रमित बनाउन भइरहेको प्रयास गलत हो भन्ने स्थापित गर्न जागरण सभाको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा एमाले महासचिव शङ्कर पोखरेलले प्रमुख दलहरूप्रति जनता असन्तुष्ट होइन आशावादी छन् भन्ने सन्देश दिनु पनि सभाको मुख्य उदेश्य रहेको बताउनुभयो । एमाले महासचिव पोखरेलले समाजमा अराजकता फैलाउने शक्तिका विरुद्ध जनतालाई जागरूक बनाउन जिम्मेवार राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतको समेत दायित्व हुने पनि बताउनुभयो ।
सो दिन र्याली काठमाडौँको भद्रकालीबाट सुरु भई वीर अस्पताल, रत्नपार्क, बागबजार पुतलीसडक हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुने एमाले नेता एवं जागरण सभाका संयोजक तथा एमाले बागमती प्रदेशका संयोजक डा.राजन भट्टराईले जानकारी दिनुभयो ।