
काठमाडौँ — नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि कांग्रेसले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि यहाँ नेपाली कांग्रेसबाटै निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।उपनिर्वाचनमा कांग्रेसका तर्फबाट कृष्णमान डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस वागमती प्रदेश समितिको कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिनुभयो ।
डंगोल नेपाली कांग्रेस कीर्तिपुर नगर समितिका सभापति समेत हुनुहुन्छ । तेस्रो कार्यकालका लागि नगर समिति सभापति रहनु भएका डंगोल ललितकला क्याम्पसका पूर्वस्ववियू अध्यक्ष हुनुहुन्छ । यस्तै नेकपा एमालेले सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ ।